अन्तर्राष्ट्रिय
इरानले युद्ध जितिरहेको छैनः ट्रम्प

काठमाडौं,असार ३-
जी-७ शिखर सम्मेलनमा भाग लिन क्यानडाको कनानास्किस सहर पुगेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच जारी लडाँइबारे टिप्पणी गरेका छन्। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग भेटका क्रममा ट्रम्पले पत्रकारहरूलाई भने, इरानले ‘यो युद्ध जितिरहेको छैन र म इजरायलसँग द्वन्द्व कम गर्ने विषयमा कुरा गर्न चाहन्छु।’
जारी द्वन्द्वमा सैन्य रूपमा संलग्न हुन अमेरिकाले के कदम चाल्नुपर्छ भनेर सोध्दा ट्रम्पले यस विषयमा आफू बोल्न नचाहने बताए। ट्रम्पको भनाइअघि इजरायलले इरानको सरकारी टिभी च्यानलको भवनमा आक्रमण गरेको थियो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि आफूहरू विजयको बाटोमा रहेको दाबी गरेका छन्।
गत शुक्रबार इजरायलले आक्रमण गरेपछि इरानले पनि जवाफी हमला गरिरहेको छ। चौथो दिन सोमबारसम्म इजरायलको आक्रमणबाट इरानमा २२४ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा इरानी सेनाको नेतृत्वदायी टोलीदेखि आणविक वैज्ञानिक र सर्वसाधारणसम्म छन्।
इरानको हमलाले इजरायलतर्फ चौथो दिनसम्म २४ मारिएको त्यहाँको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।