Breaking News
भरतपुरमा ईभी कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, दुई घाइते

चितवन, कात्तिक २७-
चितवनको भरतपुर महानगरपालिका–१६ स्थित फुर्तीचोकमा आज बिहान विद्युतीय (ईभी) कारले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ९:०० बजेको समयमा फुर्तीचोकबाट नविनचोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको ईभी कारले पैदलयात्रीहरूलाई ठक्कर दिएको थियो।
दुर्घटनामा परी भरतपुर महानगरपालिका–१५ निवासी ३० वर्षीया पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा बिहान ९:५४ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) चन्द्रभुसन यादवले जानकारी दिए।
सोही कारको ठक्करबाट अन्य दुई जना पैदलयात्री सामान्य घाइते भएका छन्। घाइते दुवै जनाको हाल पुरानो मेडिकल कलेज (नयाँ मेडिकल कलेज), भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न कार र चालक भरतपुर महानगरपालिका–१६ फुर्तीचोक बस्ने ३३ वर्षीय मनोज पौडेललाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी यादवले बताए।
























