चितवन विशेष
सोमबारदेखि साप्ताहिक बजार बिदालाई निरन्तरता दिन फेन्सी र सुनचाँदी व्यवसायी एकमत

चितवन, कात्तिक २९-
चाडपर्व सकिएसँगै चितवनका व्यवसायीहरूले साप्ताहिक बजार बिदालाई पुनः निरन्तरता दिने भएका छन्। फेन्सी व्यवसायी संघ चितवनले भोलि सोमबारदेखि साप्ताहिक बजार बिदा नियमित रूपमा लागू गर्ने जनाएको छ।
संघले आफ्ना सदस्य व्यवसायीहरूलाई सूचना जारी गर्दै साप्ताहिक बजार बिदा पूर्ण रूपमा पालना गर्न र बजारमा एकरूपता कायम गर्न आग्रह गरेको छ। बजार बिदालाई प्रभावकारी बनाउन सबै व्यवसायीको साथ, सहयोग र सक्रिय सहभागिता आवश्यक रहेको भन्दै संघले सम्पूर्ण सदस्यहरूलाई बिदा मनाउन अपिल गरेको हो।
यसैबीच, बजारलाई थप व्यवस्थित, मर्यादित र एकरूप बनाउन सुनचाँदी व्यवसायीहरूले समेत सूचना जारी गर्दै साप्ताहिक बजार बिदाप्रति ऐक्यबद्धता जनाएका छन्।
व्यवसायीहरूबीच आपसी एकता, सहकार्य र समझदारी कायम गर्दै बजार व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले अघि बढाइएको यस पहललाई व्यवसायीहरूले सकारात्मक रूपमा लिएका छन्।
व्यवसाय सञ्चालनमा समान अवसर, व्यवसायीलाई साप्ताहिक विश्राम तथा बजार व्यवस्थापनमा सहजता ल्याउन साप्ताहिक बिदाको महत्वपूर्ण भूमिका रहने विश्वास गरिएको छ।
साप्ताहिक बजार बिदाको व्यवस्थालाई सफल बनाउन सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिँदै फेन्सी व्यवसायी संघ चितवनले सम्पूर्ण व्यवसायीहरूलाई निर्णयको पालना गरी सहयोग गर्न आग्रह गरेको छ।
























