चितवन विशेष

दाताको सहयोगमा बन्यो ‘वृद्धाश्रम’, ८ कोठासहितको सुविधासम्पन्न दोस्रो तला निर्माण

०
Banner

चितवन, कार्तिक २९–

असहाय वृद्धहरुको सेवाका लागि पूर्वी चितवनको रत्ननगर–१३, अमिलियामा संचालित असहाय वृद्ध कल्याण समाजमा सुविधा सम्पन्न नयाँ भवन निर्माण गरिएको छ ।

एक करोड १० लाख रुपैयाँ लागतमा निर्माण गरिएको सुविधा सम्पन्न भवनको रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा र शान्ति मेड नेपाल स्वीजरल्याण्डका संस्थापक डा.रुथ गोनसेथ र कन्ट्री डिरेक्टर कुर्त यान्सरले संयुक्त रुपमा समुद्घाटन गरेका थिए । शान्ति मेड नेपाल स्वीजरल्याण्डको पूर्ण आर्थिक सहयोगमा निर्माण गरिएको नयाँ भवनमा ८ वटा कोठा छन् । जसमध्ये ५ वटा कोठामा भित्रै शौचालयसहितको सुविधा रहेको भवन निर्माणका लागि संयोजन गरेका व्यवसायी तथा समाजसेवी देवेन्द्र श्रेष्ठले जानकारी दिए । ‘निरकला सिस्टरले पूर्वाधारको अभावकै बीचमा आश्रम चलाई रहनु भएको थियो, उहाँले नै भवनलाई पूर्णता दिन सबैसंग हार गुहार गर्नु भएको थियो । उहाँ हुँदादेखि नै भवनको माथिल्लो तला थप्ने काम सुरु भएको थियो । उहाँ संसारमा नभएपनि आज सुविधासम्पन्न कोठा निर्माण भएका छन् ।’–श्रेष्ठले सुरुवाती दिन सम्झिदै भने ।

यसअघि सामान्य अवस्थाको पहिलो तला मात्रै रहेको भवनमा अहिले स्तरीय सुविधासहित दोस्रो तला निर्माण गरिनुको साथै दुवै तलामा आवश्यक सबै नयाँ फर्निचर दाताको सहयोगमा निर्माण गरिएको असहाय वृद्ध कल्याण समाजकी अध्यक्ष उमा सापकोटाले जानकारी दिइन् । ‘अभावकै बीचमा वृद्धवृद्धाहरुको सेवामा थियौं, सुविधासम्पन्न तला थपिएपछि अब अझै धेरै जनाई र सहज रुपमा सेवा दिन सक्ने भएका छौं’–अध्यक्ष सापकोटाले भनिन् ।

नवनिर्मित दोस्रो तलमा कोठासंगै एउटा हल समेत निर्माण गरिएको छ । यस आश्रममा हाल १२ जना वृद्धवृद्धाहरु आश्रित छन् । दोस्रो तला थपिएसंगै अब आश्रमको क्षमता २२ जनासम्म पुगेको छ । हाल निःशुल्क रुपमा आश्रय दिईरहेको आश्रममा स्वास्थ्य सेवा समेत उपलब्ध छ । थप उपचारका लागि रत्ननगर बकुलहर अस्पताले निःशुल्क सेवा समेत प्रदान गरिरहेको अस्पतालका अध्यक्ष गोपाल कर्माचार्यले जानकारी दिए । ‘म अध्यक्ष भएर आएदेखि यहाँ आश्रित वृद्धवृद्धाहरुलाई निःशुल्क औषधि उपचारको व्यवस्था गरिएको छ, त्यसलाई निरन्तरता दिन्छौं । यसले वृद्धवृद्धाहरुलाई आश्रयका लागि सहज भएको छ’–कर्माचार्यले भने ।
संस्थापक अध्यक्ष स्वर्गीय निरकला शर्माले वि.संं.२०५९ सालमा ६ कठ्ठा जमिन खरिद गरेर यो आश्रमको स्थापना गरेकी थिइन् ।

२०८१ कार्तिक १० गतेसम्म उनी आश्रममै सेवा गर्दागर्दै अस्ताएकी थिइन् । चितवनमा २५ वर्ष अध्यापन गराएर अवकाश पछि पाएको २५ हजार रपैयाँबाट उनले आश्रम संचालन गर्न जमिन खरिद गरेकी थिइन् । त्यसपछि भवन बनाउन थप दाताहरू खोजी गरियो । महायज्ञ लगाएर १ करोड ९७ लाख रुपैयाँ संकलन गरिएको थियो । सोही संकलित रकमबाट भवनको जग बसालिएको थियो । आश्रममा अहिले ११ जनाले आश्रय लिएका छन् । स्कुलबाट अवकाश पाएपछि निरकला पनि यही आश्रममा बस्दै आएकी थिइन् ।

उद्घाटन समारोहमा पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, रत्ननगरका पूर्व मेयर नारायण वन, रत्ननगर १३ का वडा अध्यक्ष, उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>