Breaking News
होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी खुलाउन अमेरिका र इरानलाई राष्ट्रसंघको आग्रह

काठमाडौँ,कात्तिक २९-
संयुक्त राष्ट्रसंघले होर्मुज जलमार्ग बाट रासायनिक मल ढुवानी तत्काल खुलाउन अमेरिका र इरानलाई आग्रह गरेको छ । मल आपूर्तिमा अवरोध हुँदा विश्व बजारमा मूल्य बढेको र कृषि उत्पादन प्रभावित हुन सक्ने भन्दै संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस) का कार्यकारी निर्देशक जर्ज मोरेरा डा सिल्भाले दुवै देशलाई मल बोकेका जहाज आवागमनको अनुमति दिन आग्रह गरेका हुन् ।
शनिबार उनले मल आपूर्ति अवरुद्ध हुँदा विशेषगरी खाद्य संकटको जोखिममा रहेका कमजोर तथा विकासशील देशहरू बढी प्रभावित भएको बताए । फेब्रुअरी २८ मा अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएयता विश्व बजारमा रासायनिक मलको मूल्य करिब ३० प्रतिशतले बढेको उनको भनाइ छ ।
डा सिल्भाका अनुसार युद्धअघि विश्वभर आपूर्ति हुने कुल रासयनिक मलमध्ये करिब एकतिहाइ होर्मुज जलमार्ग हुँदै ढुवानी हुने गरेको थियो । उक्त मार्गमा अवरोध भएपछि अन्तर्राष्ट्रिय बजारमा मल आपूर्ति प्रभावित भएको छ ।
उनले खेतीपातीको मौसममा आवश्यक मल उपलब्ध हुन नसके विश्वभर थप ४ करोड ५० लाख मानिस गम्भीर खाद्य असुरक्षाको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् । त्यस्तै, ३ करोड मानिस गरिबीमा धकेलिन सक्ने उनको भनाइ छ ।
मल आपूर्ति सहज बनाउन होर्मुज जलमार्गबाट दैनिक कम्तीमा पाँचवटा मल बोकेका जहाजलाई आवागमनको अनुमति दिनुपर्ने उनले बताएका छन् । संयुक्त राष्ट्रसंघले यसअघि विकास गरेको संयन्त्रमार्फत मल ढुवानी पुनः सुरु गर्न सकिने र त्यसका लागि ७ देखि १० दिन पर्याप्त हुने डा सिल्भाले बताएका छन् । उनले मल आपूर्तिमा देखिएको अवरोध तत्काल हटाउन सके कृषि उत्पादनमा पर्ने असर न्यूनीकरण गर्न र सम्भावित विश्वव्यापी खाद्य संकट रोक्न सहयोग पुग्ने बताएका छन् । सीसीटीभी प्लस
























