Breaking News

छठ पूजाको सुरक्षाका लागि दमकमा १०० प्रहरी परिचालन, ड्रोनबाट निगरानी गरिने

०
Banner

दमक,कार्तिक २९-
छठ पर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन दमकस्थित रतुवा खोला किनारमा १०० जना प्रहरी परिचालन गरिने भएको छ । पूजा स्थलमा प्रहरी सहायता कक्ष स्थापना गर्नुका साथै ड्रोनमार्फत समेत निगरानी गरिने भएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक प्रमोद खड्काले छठ पर्वको सुरक्षाका लागि आवश्यक तयारी गरिएको जानकारी दिएका हुन् । उनका अनुसार भक्तजनको सुरक्षा र सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरी परिचालन गरिनेछ ।

छठ पर्व नजिकिएसँगै रतुवा खोला किनारमा घाट निर्माण तथा पूजा स्थल व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको छ । दमक तथा आसपासका क्षेत्रबाट सयौँ परिवारले यहाँ छठ पूजा गर्ने तयारी गरेका छन् ।

यसैबिच, जिल्ला प्रशासन कार्यालय झापाले पनि जिल्लाभर छठ पर्वको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई समन्वयात्मक रूपमा परिचालन गरिएको जनाएको छ । सादा पोशाकका सुरक्षाकर्मीसमेत परिचालन गरिने जनाइएको छ ।

रातभर सञ्चालन हुने पूजामा सहभागी व्रतालु तथा भक्तजनको सुरक्षालाई ध्यानमा राख्दै चोरी, गरगहना लुटपाट, लैङ्गिक हिंसा तथा दुव्र्यवहारजस्ता अवाञ्छित गतिविधि नियन्त्रणमा विशेष सतर्कता अपनाइने प्रशासनले जनाएको छ ।

केही छठघाटमा तालिमप्राप्त कुकुर तथा ड्रोनको प्रयोग गरिने र भद्रपुरस्थित छठघाटमा सशस्त्र प्रहरीले स्वास्थ्य सहायता कक्षसमेत सञ्चालन गर्ने जनाएको छ। साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरीका विपद् उद्धार टोली तयारी अवस्थामा रहनेछन्।

प्रशासनले छठ पर्व मनाउँदा ध्वनि प्रदूषण नहुने गरी साउन्ड सिस्टम प्रयोग गर्न तथा सामाजिक सद्भाव र शिष्टता कायम राख्न पनि आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>