समाचार

त्रिविको बजेट ९ दशमलव ७७ प्रतिशतले बढ्यो

०
Banner

काठमाडौं, असोज २२-

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक बजेटमा वृद्धि भएको छ । गत वर्षको तुलनामा ९ दशमलव ७७ प्रतिशतले बढेको हो । बिहीबार बसेको त्रिवि सभाले आगामी आर्थिक वर्ष २०८३ ०८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजारको बजेट बिनियोजन गरेको छ ।

विश्वविद्यालयको ६७औँ सभामा रजिष्ट्रार डा रविन्द्र सिवाकोटीले बजेट प्रस्तुत गरेका थिए । विश्वविद्यालयले प्रस्ताव गरेको कुल बजेटमध्ये ४९ दशमलव ३८ प्रतिशत अर्थात् १५ अर्ब २४ करोड २७ लाख ५ हजार आन्तरिक स्रोतबाट र ५० दशमलव ६२ प्रतिशत अर्थात् १५ अर्ब ६२ करोड ८४ लाख तीन हजार रुपैयाँ नेपाल सरकारबाट व्यहोर्ने अनुमान गरेको छ ।

तर, चालु आर्थिक वर्षका लागि नेपाल सरकारले त्रिविलाई सात अर्ब ३१ करोड ६ लाख ५६ हजार रुपैयाँ मात्र अनुदान विनियोजन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा चार अर्ब ८० करोड रुपैयाँ कम हो । शिक्षक तथा कर्मचारीको तलब वृद्धि र प्रोत्साहन भत्ताबाट थप दायित्व सिर्जना हुने भएकाले विश्वविद्यालयलाई कुल आठ अर्ब ३१ करोड ७७ लाख ४७ हजार अपुग हुने त्रिविले जनाएको छ ।

विश्वविद्यालयका अनुसार, उक्त रकम सरकारले उपलब्ध नगराए अनिवार्य दायित्वअन्तर्गतका खर्चसमेत धान्न कठिन हुने अवस्था छ । आवश्यक रकमको व्यवस्था गर्न नेपाल सरकारसँग पहल भइरहेको त्रिविले जनाएको छ । विश्वविद्यालयले अपुग रकम व्यवस्था गरिदिन प्रधानमन्त्री एवं त्रिविका कुलपतिसमक्ष आग्रह समेत गरेको छ ।

प्रस्तावित बजेटमध्ये सञ्चालन खर्चमा ८६ दशमलव १४ प्रतिशत र पुँजीगत खर्चमा १३ दशमलव ८६ प्रतिशत विनियोजन गर्ने प्रक्षेपण गरिएको छ ।

त्रिविले प्राध्यापक तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम, सेमिनार तथा गोष्ठी सञ्चालन गर्न २१ करोड ७७ लाख ८९ हजार रुपैयाँ विनियोजन गरेको छ । अनुसन्धान तथा विकासका लागि ४३ करोड ७५ लाख ५२ हजार रुपैयाँ छुट्याइएको छ । यो कुल बजेटको १।४१ प्रतिशत हो ।

त्यस्तै, सूचना प्रविधि तथा प्रशासनिक संयन्त्र व्यवस्थापनका लागि आठ करोड विनियोजन गरिएको छ । करार सेवामा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्तरिक स्रोतबाट दिइँदै आएको महँगी भत्ता र चाडपर्व खर्चलाई समेत निरन्तरता दिने व्यवस्था गरिएको त्रिविले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>