Breaking News
छ हजार ५१८ मिटर अग्लो जुगल-२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण

तस्बिर सौजन्य : मिलन तामाङ
सिन्धुपाल्चोक, कात्तिक १४ –
सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको छ हजार ५१८ मिटर अग्लो जुगल-२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ ।
स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल-२ को सफल आरोहण गर्नुभएको हो । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ ।
पहिलो आरोहणसँगै जुगल हिमशृङ्खलाका अन्य हिमालको आरोहणका लागि पनि सम्भावना बढेको तामाङले बताउनुभयो । उहाँले यस सफलताले नेपालको पर्वतीय पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले चुनौतीपूर्ण मानिएको जुगल–२ को पहिलो आरोहण गर्न सफल स्पेनी टोलीलाई बधाई दिँदै यसले नेपालको हिमाली पर्यटन, विशेषगरी जुगल हिमशृङ्खलाको पहिचान अन्तरराष्ट्रियस्तरमा थप स्थापित गर्ने बताउनुभयो ।
जुगल गाउँपालिकाले हिमाल आरोहण, पदमार्ग प्रवर्द्धन र पर्यटन पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहेको छ । ‘गन्तव्य जुगल’ अभियानमार्फत हिमाल, पदमार्ग तथा धार्मिक र सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने गाउँपालिकाको लक्ष्य छ ।
यसअघि २०७५ चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा छ हजार १२६ मिटर अग्लो ग्याल्चेन पिक र २०७७ कात्तिक ४ गते सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा सात सदस्यीय टोलीले छ हजार १८४ मिटर अग्लो जुगल–३ हिमालको आरोहण गरेका थिए । विदेशी पर्वतारोहीले २०८१ वैशाखमा पहिलोपटक जुगल–१ हिमालको सफल आरोहण गरेका थिए ।
























