देश/प्रदेश

सङ्खुवासभामा क्षयरोगी पहिचान गर्न १० दिने अभियान

०
Banner

सङ्खुवासभा, मंसिर ११ –

सङ्खुवासभा क्षयरोगका नयाँ बिरामी पहिचान गर्ने उद्देश्यले आगामी पुस १ देखि १० गतेसम्म जिल्लाका १० वटै स्थानीय तहमा विशेष खोज तथा पहिचान अभियान सञ्चालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाले सदरमुकाम खाँदबारीमा आयोजना गरेको जिल्लास्तरीय क्षयरोग कार्यक्रमको योजना तर्जुमा, विश्लेषण तथा समीक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

क्षयरोगका नयाँ बिरामी खोजी गर्ने, प्रयोगशालामा परीक्षणको दायरा बढाउने तथा रोगी पहिचान र उपचारलाई प्रभावकारी बनाउने १० दिने अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाका क्षयरोग फोकल पर्सन विनोद थापाले बताउनुभयो । गत आर्थिक वर्षमा जिल्लामा सञ्चालन भएका क्षयरोगसम्बन्धी कार्यक्रमको समीक्षा गर्दै नयाँ बिरामी पहिचान, उपचारमा रहेका बिरामीको अवस्था र उपचारपछि निको भएकाहरूको तथ्याङ्कसमेत विश्लेषण गरिने क्षयरोग फोकल पर्सन थापाले बताउनुभयो । जिल्लामा हालसम्म ८२ जना क्षयरोगका बिरामी पहिचान भएका छन् भने चालु आवको साउनयतामात्रै ३० जना नयाँ बिरामी फेलापरेका छन् ।

कोशी प्रदेशमा चार हजार ७४५ जना क्षयरोगका बिरामी रहेका छन् । चार हजार ७४५ जनामध्ये सबैभन्दा बढी सुनसरीमा एक हजार ३३० जना र सबैभन्दा कम सोलुखुम्बुमा २१ जना क्षयरोगका बिरामी रहेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाकी फोकल पर्सन सुजाता बुढाथोकीले जानकारी दिनुभयो ।

क्षयरोग नियन्त्रणका लागि समयमै रोग पहिचान, नियमित परीक्षण र औषधिको पूर्ण मात्रा सेवन महत्त्वपूर्ण रहेको भन्दै उहाँले स्थानीय तह तथा स्वास्थ्य संस्थाबीच समन्वय आवश्यक रहेको बताउनुभयो । शनिबारसम्म सञ्चालन हुने समीक्षा कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, प्रयोगशाला प्रमुख तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको छ ।

कार्यक्रममा जिल्लामा क्षयरोग नियन्त्रणका लागि भएका प्रयास, उपलब्धि, समस्या र आगामी कार्ययोजनाबारे छलफल भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश भट्टले बताउनुभयो । क्षयरोग नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य संस्थाको प्रभावकारी भूमिका, नियमित परीक्षण, पहिचान र उपचारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्लामा क्षयरोग परीक्षण तथा पहिचानका लागि उपलब्ध प्रयोगशाला, स्वास्थ्य संस्था र उपकरणको अवस्थाबारे पनि जानकारी गराइएको थियो । जिल्लामा १८ वटा स्वास्थ्य संस्थामा क्षयरोगसम्बन्धी सेवा उपलब्ध रहेको र तीमध्ये आठवटा संस्थामा परीक्षण सेवा सञ्चालनमा रहेका छन् । कार्यक्रममा क्षयरोग नियन्त्रणका लागि आगामी लक्ष्य र उपलब्धिको अवस्थाबारेसमेत छलफल गरिने छ । कार्यक्रममा क्षयरोगको पहिचान र उपचारसँगै सङ्क्रमण फैलिन नदिन रोकथामका उपायलाई पनि प्राथमिकता दिनुपर्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>