Breaking News
चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह

नारायणगढ (चितवन), कात्तिक १० –
शिक्षा विकास तथा समन्वय इकाइ, चितवनले जिल्लाका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा प्रचलित कानुन र आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।
इकाइले जिल्लाका सम्पूर्ण विद्यालयलाई पत्राचार गर्दै शिक्षक तथा कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोग व्यवस्थित बनाउन र कानुनी व्यवस्थाको पालना गर्न अनुरोध गरेको हो।
शिक्षा नियमावली, २०५९ को नियम १३३ मा शिक्षकले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी व्यवस्था रहेको छ। उक्त व्यवस्थाअनुसार नेपाल सरकार र नेपाली जनताको पारस्परिक सम्बन्धमा वा विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पर्न सक्ने गरी लेख प्रकाशित गर्ने, सञ्चारमाध्यमलाई खबर दिने, रेडियो वा टेलिभिजनबाट भाषण प्रसारण गर्ने तथा सार्वजनिक भाषण वा वक्तव्य प्रकाशित गर्ने कार्यमा प्रतिबन्ध लगाइएको पत्रमा उल्लेख छ।
त्यस्तै, सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८० को दफा ८ मा सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्न नहुने कार्यबारे स्पष्ट व्यवस्था गरिएको इकाइले जनाएको छ।
इकाइले शिक्षक तथा कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा कानुन र आचारसंहिताविपरीतका गतिविधि नगर्न आग्रह गरेको छ। कानुनी व्यवस्था तथा आचारसंहिता पालना नगरेको पाइएमा शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (२) अनुसार नियमन गरिने पत्रमा उल्लेख छ।
इकाइ प्रमुख कृष्णचन्द्र पौडेलद्वारा हस्ताक्षरित पत्रमा विद्यालयका शिक्षक तथा कर्मचारीलाई कानुनी व्यवस्थाको पूर्ण पालना गराउन सम्बन्धित विद्यालयलाई अनुरोध गरिएको छ।
























