देश/प्रदेश
कृष्णनगरमा २२ लाखभन्दा बढीको यौन खेलौना बरामद

कपिलबस्तु,कात्तिक १२-
कपिलवस्तुको कृष्णनगरबाट २२ लाख ९२ हजार १०० रुपैयाँ मूल्य बराबरका ७७६ थान यौन खेलौना तथा १ हजार ४७६ थान चार्जर बरामद भएका छन्। कृष्णनगर नगरपालिका–२ स्थित महेन्द्र पार्क नजिकै बेवारिसे अवस्थामा रहेका ती सामग्री इलाका प्रहरी कार्यालय कृष्णनगरको प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमान्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोलीले बरामद गरेको हो।
प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बरामद सामग्रीमा महिलाले प्रयोग गर्ने ३५६ थान यौन खेलौना, पुरुषले प्रयोग गर्ने ९९ थान यौन खेलौना र हरियो रङका ३२१ थान यौन खेलौना छन्। ती सामग्रीसँगै १ हजार ४७६ थान चार्जर पनि बरामद गरिएको उनले बताए।
प्रहरीका अनुसार बरामद सामग्रीको कुल मूल्य २२ लाख ९२ हजार १०० रुपैयाँ रहेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरबाट करिब डेढ किलोमिटरको दूरीमा रहेको उक्त स्थानबाट बरामद गरिएका सामग्री आवश्यक अनुसन्धान तथा कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।
























