स्वास्थ्य
जाडोमा रुघाखोकी र सङ्क्रमणबाट बच्न रोगप्रतिरोधात्मक क्षमता बढाउने ५ पेय पदार्थ

काठमाडौँ, कात्तिक ९ –
रोगप्रतिरोधात्मक क्षमता (इम्युनिटी) भन्नाले शरीरले रोगहरूसँग कति समयसम्म लड्न सक्छ भन्ने बुझाउँछ।
यदि तपाईं बारम्बार बिरामी पर्नुहुन्छ वा बिरामी भएपछि चाँडै निको हुनुहुन्न भने त्यो शरीरको इम्युनिटी कमजोर भएको सङ्केत हो।
जाडो मौसम धेरैजसोलाई मन पर्ने भए पनि यो समयमा मानिसहरू बढी बिरामी पर्छन्। यसको प्रत्यक्ष कारण चिसो वा सिरेटो मात्र नभई यो मौसमले तयार पार्ने वातावरण हो, जसमा भाइरस र ब्याक्टेरिया तीव्र गतिमा फैलिन्छन्।
यस्तो अवस्थामा यदि इम्युनिटी कमजोर छ भने जाडोमा रुघाखोकीले बढी सताउन सक्छ। सन्तुलित खानपान नहुने व्यक्तिहरूमा यो समस्या धेरै देखिन्छ। जाडोका कारण निम्तिने यस्ता स्वास्थ्य समस्याविरुद्ध लड्न शरीरलाई सक्षम बनाउने केही घरेलु पेय पदार्थहरू यहाँ प्रस्तुत गरिएको छ :
अदुवाको चिया
जाडो मौसममा अदुवाको चिया निकै लोकप्रिय पेय हो। यसको तातोपन र सुगन्धले चिसो दिनहरूमा आरामदायी महसुस गराउँछ। अदुवामा ‘जिन्जरल’ नामक तत्व पाइन्छ, जसले शरीरमा हुने इन्फ्लेमेसन कम गर्न मद्दत गर्छ। यो बनाउन एक कप पानीमा अदुवाका केही टुक्रा हालेर करिब ५ मिनेट उमाल्नुपर्छ। त्यसपछि छानेर कागतीको रस वा थोरै मह मिलाई तात्तातो स्वाद लिन सकिन्छ।
बेसार र दुध
घरपरिवारमा बेसार र दुध लामो समयदेखि प्रयोग गरिँदै आएको परम्परागत पेय हो। बेसारमा ‘कर्क्युमिन’ नामक तत्व हुन्छ, जसमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ। दुधबाट प्रोटिन, क्याल्सियम र भिटामिन बी१२ जस्ता पोषक तत्वहरू प्राप्त हुन्छन्।
यसले शरीरलाई न्यानो राख्नुका साथै सङ्क्रमण रोकथाममा सहयोग पुर्याउँछ। यो बनाउन एक कप दुध तताएर त्यसमा एक चौथाइ चम्चा बेसार मिसाउनुपर्छ। यसलाई केही मिनेट मन्द आगोमा पकाएपछि स्वादका लागि एक चिम्टी दालचिनी वा मरिचको धुलो हाल्न सकिन्छ। मनतातो छँदै यसको सेवन गर्नु उपयुक्त हुन्छ।
अमलाको जुस
अमला भिटामिन ‘सी’ को उत्कृष्ट स्रोत हो। यसले रोगप्रतिरोधात्मक प्रणालीको कार्यसम्पादनमा मद्दत पुर्याउनुका साथै शरीरमा आइरन सोस्ने प्रक्रियालाई समेत प्रभावकारी बनाउँछ।
यो बनाउन एक वा दुईवटा अमला धोएर टुक्रा पारी भित्रको दाना निकाल्नुपर्छ। त्यसपछि पानीसँग मिसाएर ब्लेन्ड गर्ने र चाहेमा छानेर थप पानी मिसाउन सकिन्छ। स्वादमा मिठास ल्याउन हल्का मह मिलाएर यसको सेवन गर्न सकिन्छ।
कागती र मह-पानी
बिहान मनतातो कागती पानी पिउनु शरीरलाई ‘हाइड्रेट’ राख्ने सरल उपाय हो। कागतीबाट भिटामिन ‘सी’ प्राप्त हुन्छ भने महले पेयमा मिठास थप्छ। एक वर्षभन्दा माथिका मानिसहरूमा महले खोकीबाट केही राहत पाउन मद्दत गर्छ। यो बनाउन एक गिलास मनतातो पानीमा कागतीको रस र आवश्यकताअनुसार एक चम्चा मह घोलेर सेवन गर्नुपर्छ।
दालचिनीको हर्बल चिया
दालचिनीको चिया आफ्नो मीठो सुगन्ध र हल्का गुलियो स्वादका लागि रुचाइन्छ। यसमा पाइने वनस्पतिजन्य तत्वहरूमा एन्टिअक्सिडेन्ट गुण हुन्छ। यो बनाउन एक कप पानीमा दालचिनीको सानो टुक्रा हालेर ५ देखि १० मिनेट उमाल्नुपर्छ। त्यसपछि छानेर पिउन सकिन्छ। स्वाद बढाउन कागती वा अदुवा पनि थप्न सकिन्छ। एजेन्सी























