Uncategorized

भारत–चीनको लिपुलेक सहमतिमा सत्तापक्ष र प्रतिपक्षले गरे संसद्‌मा विरोध

Banner

काठमाडौं, भदौँ ५-

भारत र चीनबीच लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने गरी भएको सहमतिप्रति सत्तारूढ र विपक्षी दलले विरोध जनाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठमा सत्तापक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपालको भूमिमा नेपाललाई जानकारी नै नदिई गरिएको सम्झौता गलत भएको बताए ।

“लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो भूमि हो, त्यसमार्फत सीमा व्यापार गर्ने जे सम्झौता भयो । नेकपा ९एमाले० यसको विरोध गर्दछ,” बर्तौलाले भने, “हामी गम्भीर असहमति यो सदनमार्फत राख्न चाहन्छौँ ।”

उनले देश सानो ठूलो हुन सक्ने भन्दै सार्वभौमिकता आकारका आधारमा सानो ठूलो नहुने बताए । “देश सानो ठूलो हुन सक्छ । तर, सार्वभौमसत्ता कसैको ठूलो सानो हुँदैन,” उनले भने, “कसैले हाम्रो सार्वभौमिकतामा थिचोमिचो गर्छ भने हामी प्रतिवाद गर्न चाहन्छौँ ।” यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले पनि सम्झौताप्रति विरोध जनाए । उनले दुई छिमेकीले नेपाल आमालाई आघात पुर्याएको बताए ।

“आज नेपाल आमा दुःखी रहेको छ । हाम्रा दुई छिमेकी भारत र चीनले नेपाललाई जानकारीसमेत नदिई नेपालको भूमि प्रयोग गर्ने सम्झौता गरेका भनिएको छ,” प्रमुख सचेतक पाण्डेले भने, “यो सहमतिप्रति हामी आपत्ति प्रकट गर्दैछौँ, विरोध गर्दछौँ ।” उनले माओवादी केन्द्रले विगतमा पनि आवाज उठाएको भन्दै अहिले पनि त्यही अवस्थामा उभिने बताए । सरकारले भने कडा र बलियो कूटनीतिक कदम चाल्नुपर्ने उनले बताए ।

“हाम्रो पार्टीले विगतमा पनि यस विषयमा आवाज उठाएका थियौँ । सदनको प्रमुख विपक्षी दलको तर्फबाट हामी बलियो कूटनीतिक कदम उठाउन सरकारको ध्यानाकर्षण गर्दछौँ,” पाण्डेले भने, “नेपालको हितको पक्षमा एक हुन दलका तर्फबाट अनुरोध गर्दछौँ ।”

चीनका विदेशमन्त्री वाङ यीको पछिल्लो भारत भ्रमणका क्रममा व्यापार सम्झौता अघि बढाउन लिपुलेक नाका प्रयोग गर्ने सहमति भएको थियो । त्यसले औपचारिकता नपाउँदै सरकारले सञ्चारमाध्यममा उठेका सवालबारे आफ्नो धारणा सार्वजनिक गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>