Breaking News
नारायणी नदीको स्वरुप बिगारेर महोत्सव गरिँदै,सरोकारवाला निकाय मौन

भरतपुर,कात्तिक २८-
महोत्सवका नाममा नारायणी नदीको स्वरुप बिगार्ने काम भइरहेको भन्दै चर्को विरोध भएको छ । नदी किनारलाई यसअघिदेखि नै कमाई खाने भाँडोका रुपमा मात्रै प्रयोग हुँदै आएको हो । गत असोज ११ र १२ गते आएको बाढीले चितवनतर्फ नदी किनारलाई क्षतविक्षत बनाएको थियो । दिर्घकालिन योजना बनाएर नदी किनारलाई व्यवस्थित गर्नुको साटो आगामी दिनमा थप क्षति हुनेगरी नदी किनारको स्वरुप बिगारिँदै छ ।
करिब १५ करोड रुपैयाँ खर्चिएर नदीको बीचमा सिबिच मोडलको तटबन्ध बनाइँदा नदी किनारको मैदानमा बाढीले झन् ठूलो क्षति पु¥याएको छ । बाढीले मैदानलाई खाल्डो र बगरमा परिणत गरेपछि नदीको स्वरुपलाई चलाउन नहुने कुरा उठ्न थालेको छ । यद्यपि यहि ठाउँमा मंसिर २ गतेदेखि नारायणी महोत्सव भनेर आयोजना गर्ने तयारी गरिएको छ । महोत्सव आयोजक संस्था रेड रक नेपालले नदी तटबन्धलाई नै असर पर्नेगरी नदीजन्य पदार्थ निकालेको छ । अर्को पटक बाढी आउँदा झनै ठूलो क्षति हुने गरी नदीको स्वरुप बिगार्ने काम भएपछि चौतर्फी आलोचना भइरहेको छ ।
दीर्घकालिन योजनाका साथ नदी किनारलाई व्यवस्थित गर्नुपर्नेमा महोत्सव गर्न नदीको स्वरुप बिगार्ने काम भइरहेको स्थानीयहरु बताउँछन् । नारायणी संरक्षणका विगत लामो समयदेखि आवाज उठाउँदै आएका युवा सागर कार्कीले नारायणी नदी कसैको पाइखाना वा डम्पयार्ड होइन भन्दै त्यहाँ भइरहेका गतिविधिको विरोध गरेका छन । भरतपुरको मेयरमा उम्मेदवारी समेत घोषणा गरेका उनले भनेका छन,हाम्रो आस्था,भरोसा विश्वास र मानव सभ्यताको प्रतिक हो नारायणी नदी । विकल्पहरु हुँदाहुँदै महोत्सवको नाममा नदीमाथि गरिने कुनैपनि दोहन किमार्थ स्वीकार्य हुनेछैन ।
्
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्रदेव भारतीले नदीजन्य पदार्थ निकाल्न स्वीकृति नदिइएको बरु बाहिरबाट बालुवा ल्याएर सम्याउन भने अनमति दिइएको बताए । तटबन्धनको आडबाटै नदीजन्य पदार्थ निकालिएको विषयमा भने आफु जानकार नरहेको भन्दै त्यसको निरीक्षण गर्नुपर्ने बताए । नारायणी किनारमा भइरहेको गतिविधिमा महानगरकै मौन स्वीकृति देखिन्छ । महानगरको न अनुगमन छ, न त चासो नै छ ।
रेड रक नेपालका अध्यक्ष विकल क्षेत्रीले भने बाढीले बिगारेको नदी किनारलाई आफुहरुले सम्याएर व्यवस्थित गरिएको दाबी गरे । ‘हामीले आफ्नै स्रोत साधन लगानीमा आवश्यक मेशिनरी तथा जनशक्ति परिचालन गरी नदी किनारको पुनःस्थापना, सरसफाई र जमिन सम्याउने, गेगर तथा बालुवा व्यवस्थापन गरी सौन्दर्यकरणको काम गरेका हौँ’, उनले भने ।
महोत्सव गर्ने भनेर तयार गरिएको ठाउँमा सिबिच तटबन्धन भन्दा करिब पाँच फिट तल छ । त्यहाँका ढुंगा गिट्टी हटाइएको छ भने सो ठाउँमा बालुवाले मात्रै पुर्ने काम भएको छ । यसअघि पनि नारायणी नदी किनारमा शक्तिको आडमा विभिन्न संघसंस्थाले महोत्सव आयोजना गर्दै आएका थिए । ती महोत्सवहरुको न आयव्यव सार्वजनिक हुन्छ न त त्यसको प्रतिफल नै देखिन्छ । चितवन महोत्सव आयोजना गर्दै आएको चितवन उद्योग वाणिज्य संघ पनि यो विषयमा मौन छ । आफुहरुलाई महोत्सव आयोजना गर्न सहज हुने आशामा उद्योग वाणिज्य संघ मौन रहेको स्थानीय व्यवसायी बताउँछन् ।
























