अन्तर्राष्ट्रिय
द्वपक्षीय सम्बन्ध विस्तारसहित आर्थिक कूटनीतिका पक्षमा लविङ जारी छ : राजदूत डा ओली

कुन्मिङ (युनान), असार १३-
चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले द्विपक्षीय सम्बन्ध विस्तारसहित परिणाममुखी आर्थिक कूटनीतिका पक्षमा ‘लाविङ’ जारी रहेको बताउनुभएको छ ।
छिमेकी मित्रराष्ट्र चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा आयोजित नवौँ चाइना–दक्षिण एसिया एक्स्पो तथा २९औँ चाइना कुन्मिङ आयातनिर्यात मेलामा भाग लिन आउनुभएका राजदूत डा ओलीले राससका प्रधानसम्पादक उत्तम सिल्वालसँग कुराकानी गर्दै सरकारी तथा निजी क्षेत्रको चिनियाँ लगानीसहित नवीन प्रविधि नेपाल भित्र्याउने पक्षमा अहोरात्र खटिरहेको बताउनुभयो ।
चीनको जस्तै भू–बनोवट र हावापानी रहेको नेपालमा कृषि र जडीबुटी व्यवसायबाट लाभ लिन सकिने प्रशस्त सम्भावना रहको उल्लेख गर्दैै कृषि, योजना तथा व्यवस्थापन क्षेत्रका विज्ञसमेत रहनुभएका डा ओलीले यसतर्फ चीन आर्जन गरेको विशिष्ट अनुभवसहित प्रविधि र लगानी नेपालमा भित्र्याउन सक्दो प्रयास गरिरहेको जानकारी दिनुभयो ।
विशेषगरी कृषि तथा जडीबुटीका क्षेत्रमा चीनले गरेको विकास र प्रगति नेपालमात्र नभई समग्र विश्वका लागि प्रेरणादायी र उदाहरणीय रहेको चर्चा गर्दै राजदूत डा ओलीले चीनसँगको सहयोग र सहकार्यको नीतिलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले विकास निर्माणसहित आर्थिक रुपले सम्पन्न एवं विशाल छिमेकी देश चीनबाट प्राप्त गर्नसक्ने कैयौँ थोक भए पनि हाम्रो सम्भावना, आवश्यकता र प्राथमिकताका आधारमा कृषि, जडीबुटी, पर्यटन, ऊर्जा, सूचना प्रविधिलगायतका क्षेत्रमा सहयोग लिइ देशलाई लाभान्वित तुल्याउन सक्नुपर्ने खाँचो औँल्याउनुभयो ।
राजदूत डा ओलीले भन्नुभयो, “नेपालसँग ऐतिहासिक एवं घनिष्ठ सम्बन्ध रहेको छिमेकी मित्रराष्ट्र चीनले अहिले हरेक क्षेत्रमा चमत्कारिक एवं उदाहरणीय विकास गरेको छ । त्यसबाट नेपाल लाभान्वित हुनसक्नुपर्दछ । राजदूतका हैसियतले चीनको आधुनिक प्रविधि, अनुभव र लगानी नेपाल भित्र्याउने सरोकारवाला पक्षसँग चरणबद्ध रुपमा छलफल गरिरहेको छु । अहिलेसम्म यहाँ भएका द्विपक्षीय छलफल र भेटघाटका आधारमा साथ, सहयोग प्राप्त हुने विश्वास लिएको छु ।”
कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जा, सूचना प्रविधि, पर्यटनजस्ता क्षेत्रमा सहकार्य गरी नेपाललाई लाभान्वित गर्ने पक्षमा आफू क्रियाशील रहेको जानकारी दिँदै उहाँले चीन सरकारका केन्द्रदेखि प्रान्तसम्मका अधिकारीसँग अहिलेसम्म सौहार्दपूर्ण वातावरणमा भएका भेटघाट तथा छलफलको परिणाम चाँडै आउने अपेक्षा गर्नुभयो ।
चिनियाँ नेता तथा अधिकारीहरू र सर्वसाधारण जनतासमेत बुद्धभूमि नेपाल तथा नेपालीको विकाससहित जीवनस्तर सुधारका पक्षमा रहेको जानकारी दिँदै राजदूत डा ओलीले चीनको यस किसिमको मित्रवत् एवं घनिष्ठ सम्बन्ध र सदीक्षाबाट नेपाल लाभान्वित हुनसक्नुपर्नेमा जोड दिनुभयो ।
चीनमा अहिले कृषि क्षेत्रमा उत्पादकत्व वृद्धिदर उच्च विन्दुमा पुगेको बताउँदै नेपालले पनि उत्पादकत्व वृद्धिमा जाड दिइ वस्तु निर्यात गर्न र बजार व्यवस्थापन गरी वास्तविक कृषकलाई लाभान्वित तुल्याउन पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
दुई देश र जनताकाबीच विशिष्ट सम्बन्ध भए पनि हाम्रा भाषाका कारण केही समस्या रहेको सन्दर्भ उल्लेख गर्दै उहाँले द्विपक्षीय सम्बन्धलाई जनस्तरसम्म विस्तार गरी पारस्परिक लाभका आधारमा नेपाली जनताको जीवनस्तर सुधार गर्ने राष्ट्रिय अभियानमा समग्र देश एक हुनुपर्ने समय आएको बताउनुभयो ।
उहाँले विद्युतीय अपराध न्यूनीकरण तथा रोकथाममा छिमेकी दुई देशबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । राजदूत डा ओलीले सीमा क्षेत्रमा हुने व्यापार, दुवै देशका पालिकास्तरीय भगिनी सम्बन्ध विस्तार, कृषि, उद्योग व्यवसाय, सूचना प्रविधि, विकास निर्माण, चिनियाँ लगानी, द्विपक्षीय सहयोग र सहकार्यलगायतका विषयमा चिनियाँ पक्षसँग चरणबद्ध रुपमा छलफल भइरहेको जानकारी दिनुभयो ।
यसैगरी दुई देशबीचको व्यापार–व्यवसायको विस्तारमा सहकार्य हुनुपर्नेमा जोड दिँदै नेपालदेखि तुलनात्मक रुपमा नजिकका ल्हासा, कुन्मिङजस्ता सहरबाट हुने व्यापर व्यवसायको प्रवर्द्धनमा नेपालको ध्यान जानुपर्ने उहाँले बताउनुभयो । रासस
























