समाचार
जनताको दुःख हेर्दा धेरै काम गर्न बाँकी देखिन्छःः हिमानी

काठमाडौँ, जेठ २८-
कर्णाली प्रदेशको जुम्ला भ्रमण सकेर काठमाडौं फर्किएकी पूर्वयुवराज्ञी हिमानी शाहले नेपालको प्राकृतिक सुन्दरता मनमोहक भए पनि त्यहाँका जनताको अवस्था र विकासको आवश्यकता देख्दा धेरै काम गर्न बाँकी रहेको महसुस भएको बताएकी छन्। बुधबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले कर्णालीका नागरिकसँग घुलमिल हुँदा उनीहरूका समस्या नजिकबाट बुझ्ने अवसर मिलेको सुनाइन्।
‘हाम्रो प्रकृतिको सुन्दर, हरियालीले भरिएको देश रमणीय छ, मलाई पनि रमाइलो लाग्यो,’ उनले भने, ‘तर त्यहाँका मानिसहरूसँग घुलमिल गर्दा, उहाँहरूको दुःख देख्दा अझै गर्नुपर्ने काम धेरै रहेछ भन्ने लाग्यो।’ उनले कर्णालीका जनताबाट पाएको माया र स्नेहप्रति आभार व्यक्त गरिन्। भ्रमणका क्रममा विभिन्न ठाउँमा पुग्दा खानेपानी जस्ता आधारभूत आवश्यकताको समेत कमी देखेको उनको भनाइ थियो। ‘ठाउँ(ठाउँमा पानीको आवश्यकता छ जस्तो लाग्यो,’ उनले भनिन्।
देशका लागि सबैले मिलेर केही गर्नुपर्नेमा जोड दिँदै पूर्वयुवराज्ञी शाहले भनिन्, ‘हामी सबैले देशलाई सक्दो मद्दत र केही काम गर्नुपर्छ, यो सबैजनाको हातमा छ।’ हिमानी ट्रष्टमार्फत सामाजिक कार्यमा सक्रिय रहँदै आएकी उन ले केही दिनअघि कर्णालीका, जुम्ला लगायतका ठाउँहरुको भ्रमण गरेकी थिइन्।

























