अन्तर्राष्ट्रिय

ट्रम्प र मस्कबिच पानी बाराबार गराउने ‘बिग एण्ड ब्युटिफुल बिल’ के हो ?

Banner

काठमाडौँ, जेठ २४-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वका धनी व्यक्ति एलन मस्कबिचको विवाद खुलेआम बाहिर आएको छ। सामाजिक सञ्जालमा उनीहरू मात्रै नभएर समर्थकहरूबिच पनि तीव्र वाकयुद्ध चलिरहेको छ।

यो विवाद यतिसम्म चर्किएको छ कि ट्रम्पले मस्कका कम्पनीहरूसँगको संघीय सरकारको ठूलो व्यापारिक सम्झौता खारेज गर्ने धम्की दिएका छन्। जवाफमा मस्कले ट्रम्पविरुद्ध महाभियोगको माग गरेका छन्। साथै आफ्ना कम्पनीहरूको कोष कटौती गर्नु चुनौती दिएका छन्। टेस्लाको सेयरमा भारी गिरावट पनि देखिएको छ।

‘बिग एण्ड ब्युटिफुल बिल’ के हो ?

‘बिग एण्ड ब्युटिफुल बिल’ ट्रम्प प्रशासनले प्रस्ताव गरेको एक महत्त्वाकांक्षी कर र खर्चसम्बन्धी विधेयक हो। ट्रम्पले यसलाई आफ्नो दोस्रो कार्यकालको प्रमुख आर्थिक एजेन्डाको रूपमा अघि सारेका छन्।

यो विधेयकले व्यक्तिगत र व्यापारिक करमा ठूलो कटौती, सरकारी सुविधा प्राप्त गर्नेहरूका लागि कडा नियम, र संघीय ऋणको सीमा चार खर्ब डलरले बढाउनेजस्ता प्रावधान समावेश गरेको छ। अनुमानअनुसार यो विधेयकले अमेरिकी बजेट घाटालाई २।४ देखि ५ खर्ब डलरसम्म बढाउन सक्छ, जसले दीर्घकालीन आर्थिक स्थिरतामा जोखिम निम्त्याउन सक्छ।

मस्कले यो विधेयकलाई ‘अमेरिकालाई ऋणको गुलामीतर्फ धकेल्ने’ र अनावश्यक खर्च थोपर्ने ‘घिनलाग्दो’ बिल भन्दै कडा आलोचना गरेका छन्। यो विधेयक मे २०२५ मा हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट कठिनाइका साथ पारित भएको थियो। हाल सिनेटमा विचाराधीन छ, जहाँ यसका प्रावधानहरू संशोधन हुन सक्छन्। अन्ततः यो विधेयक अनुमोदनका लागि राष्ट्रपति ट्रम्पसमक्ष पुग्नेछ।

ट्रम्प-मस्क विवाद

अमेरिकी सभामुख माइक जोनसनले ट्रम्प र मस्कबिच मेलमिलापको आशा व्यक्त गरेका छन्। सीबीएसका अनुसार जोनसनले भने, ‘यदि सबै कुरा ठीक भयो भने यो पार्टी र देशका लागि राम्रो हुनेछ।’

यसैबिच, सीबीएस न्यूजले ट्रम्पले आफ्नो टेस्ला कार बेच्ने योजना बनाएको समाचार प्रकाशित गरेको छ। शुक्रबार ट्रम्प र मस्कबिच कुराकानी हुने सम्भावनाको चर्चा भए पनि ह्वाइट हाउसले बीबीसीलाई ट्रम्पले मस्कसँग कुरा नगर्ने स्पष्ट पारेको छ।

ट्रम्पले विभिन्न अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै मस्कलाई ‘दिमाग गुमाएको व्यक्ति’ को संज्ञा दिए। यो विवाद बिहीबार सामाजिक सञ्जालमा खुलेआम तब बाहिर आएको थियो, जब ट्रम्पले आफ्नो ‘बिग एण्ड ब्युटिफुल बिल’ बारे मस्कको आलोचनाप्रति ‘निराशा’ व्यक्त गरेका थिए।

जवाफमा मस्कले भने, ‘म नभएको भए ट्रम्पले चुनाव हार्थे।’ मस्कले यो विधेयकले अमेरिकालाई ‘ऋणको गुलामी’ तर्फ धकेल्ने र अनावश्यक खर्चको बोझ थप्ने भन्दै सिनेटर र कंग्रेसम्यानलाई ‘यो विधेयक रोक्न’ आह्वान गरेका छन्। त्यसपछि उनीहरू व्यक्तिगत रूपमा पनि एक अर्काको आलोचना गरिरहेका छन्।

पृष्ठभूमि

मस्कले ट्रम्पको २०२४ को चुनावमा करिब २५ करोड डलर सहयोग गरेका थिए। उनी ट्रम्प प्रशासनमा सरकारी खर्च कटौती गर्न बनाइएको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी’ ९डीओजीआई० को नेतृत्व समेत गरेका थिए। तर यो विधेयकमा विद्युतीय सवारी साधन ९इभी० कर छुट हटाइएको र स्टारलिंकलाई हवाई यातायात नियन्त्रणमा प्रयोग गर्न अस्वीकार गरिएको विषयले असन्तुष्टि बढायो। हालै, मस्कका सहयोगी ज्यारेड इसाकम्यानलाई नासाबाट फिर्ता बोलाएपछि तनाव थप चर्किएको आशंका गरिएको छ। मस्कले यी तमाम विवादपछि डीओजीआईबाट राजीनामा दिएका थिए।

सम्भावना

यो विवादले रिपब्लिकन पार्टीभित्रको मतभेदलाई उजागर गरेको छ। सिनेटमा यो विधेयकको विरोध गर्ने सिनेटरहरू(रान्ड पल र माइक ली) मस्कको समर्थनमा उभिएका छन्। मस्कले सामाजिक सञ्जाल एक्समार्फत विधेयकविरुद्ध अभियान चलाउँदै ‘यो विधेयक रोक्न’ आह्वान गरिरहेका छन्।

अर्कोतर्फ ट्रम्पले यो विधेयकलाई आफ्नो दोस्रो कार्यकालको प्रमुख उपलब्धिको रूपमा अघि सारेका छन्। यसलाई ४ जुलाईसम्म पारित गर्ने लक्ष्य राखेका छन्। यो तनावले ट्रम्प र मस्कको सम्बन्धमा गहिरो दरार ल्याएको छ, जसले ‘बिग एण्ड ब्युटिफुल बिल’ को भविष्यमाथि पनि प्रश्न उठेको छ। एजेन्सीको सहयोगमा

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>