अन्तर्राष्ट्रिय

ट्रम्पले गरे युरोपेली संघमाथि ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा

Banner

काठमाडौँ, जेठ ९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (इयू) बाट आयात हुने सबै सामानमा ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। यो शुल्क एक जुन, २०२५ बाट लागू हुने छ। ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै इयूसँगको व्यापार वार्ता ‘कतै नपुगेको’ र इयूले अमेरिकालाई व्यापारमा ‘ठग्ने’ उद्देश्यले संघ गठन गरेको आरोप लगाएका छन्।

उनले भनेका छन्, ‘युरोपेली संघ व्यापारमा अमेरिकालाई फाइदा उठाउन गठन भएको हो। हाम्रो वार्ता कतै पुगेको छैन। त्यसैले म एक जुन, २०२५ बाट ५० प्रतिशत भन्सार शुल्क सिफारिस गर्छु।’ ट्रम्पले यो शुल्क अमेरिकामा उत्पादन हुने सामानमा भने लागू नहुने बताए। यो घोषणाले युरोपेली सेयर बजारमा ठूलो गिरावट आएको छ।

जर्मनी र फ्रान्सका सेयर बजार २ प्रतिशतले घटेको छ भने युरोको मूल्य पनि डलरको तुलनामा केही कमजोर भएको छ। युरोपेली संघले यो कदमको जवाफमा तत्काल प्रतिशोधी शुल्क लगाउने तयारी गरेको छ। युरोपेली आयोगले ट्रम्पको घोषणामा तत्काल टिप्पणी गर्न अस्वीकार गरेको छ। तर व्यापार वार्ता भइरहेको र एक सय अर्ब डलरभन्दा बढीको अमेरिकी सामानमा प्रतिशोधी शुल्क लगाउन सकिने जनाएको छ।

हाल इयूमाथि १० प्रतिशत आधारभूत शुल्क लगाइएको छ। तर नयाँ सम्झौता नभएमा यो शुल्क २० प्रतिशतसम्म पुग्न सक्थ्यो। नयाँ ५० प्रतिशत शुल्कको प्रस्तावले व्यापार युद्धको जोखिमलाई थप बल पुगेको छ। यो शुल्कले युरोपेली अर्थतन्त्र ०दशमलव४ प्रतिशतले खुम्चिन हुन सक्ने विश्लेषण भइरहेको छ। अर्कोतिर अमेरिकी अर्थतन्त्रमा पनि ० दशमलव १७ प्रतिशतको नकारात्मक असर पर्न सक्छ।

यसअघि ट्रम्पले दुई अप्रिलमा इयूमाथि २० प्रतिशत शुल्क लगाएका थिए। जुन ९० दिनका लागि १० प्रतिशतमा झारिएको थियो। उनले इयूलाई ‘चीनभन्दा कठोर’ भन्दै बारम्बार आलोचना गर्दै आएका छन्। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>