अन्तर्राष्ट्रिय
शेख हसिनाको पार्टी बंगलादेशमा आतंककारी घोषित

काठमाडौं,बैशाख २८-
बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि पूर्णप्रतिबन्ध लगाएको छ। आतंकवादविरोधी ऐन अन्तर्गत अवामी लिग र यसको नेतृत्वका विरुद्ध अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल (आइसीटी)को मुद्दा नसकिएसम्म साइबरस्पेस र अन्यत्र गरिने सबै गतिविधिमा प्रतिबन्ध लगाएको बंगलादेश सरकारले जारी विज्ञप्तिमा जनाइएको छ।
‘यो निर्णय राष्ट्रिय सुरक्षाको सुनिश्चितता, जुलाई आन्दोलनका कार्यकर्ताहरूको सुरक्षा, र ट्रिब्युनलका मुद्दामा संलग्न वादी र साक्षीहरूको सुरक्षाका लागि गरिएको हो’, विशेष सल्लाहकार परिषद्को शनिबार रातिको बैठकपछि कानुन सल्लाहकार आसिफ नजरुलले बताएका छन्।
अन्तरिम सरकारका प्रमूख सल्लाहकार मोहम्मद यूनुसको अध्यक्षतामा बसेको विशेष सल्लाहकार परिषद्को उक्त बैठकले १९७३ को अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल ऐनमा संशोधनलाई पनि स्वीकृति दिएको बिबिसी बंगालाले जनाएको छ।। अब अवामी लिग पार्टी बंगलादेशमा आतंककारी समूह सरह हुनेछ।
साथै, सल्लाहकार परिषद्ले आगामी ३० कार्यदिनभित्र ’जुलाई घोषणापत्र’ अन्तिम रूप दिएर प्रकाशित गर्ने निर्णय पनि गरेको छ। बंगलादेशमा जातीय र धार्मिक आतंकको जग बसालेको भन्दै केहीदिनदेखि विभिन्न शहरहरुमा अवामी लिग विरुद्ध प्रदर्शन भइरहेका थिए।
सम्पूर्ण दलहरुको एकमतले पछिल्ला दिनहरूमा अवामी लिगलाई प्रतिबन्ध लगाउन माग गरेकोले सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको जनाइएको छ। अवामी लिगमाथि प्रतिबन्धको घोषणापछि बंगलादेशमा राति नै लाखौं मानिसहरु सडकमा आएर विजयी जुलुश निकालेका थिए।

























