अन्तर्राष्ट्रिय
युद्ध समाप्त गरेमा रूसलाई विश्वकपमा स्थान दिनुपर्छः ट्रम्प

वासिङ्टन,बैशाख २५-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँगको युद्ध समाप्त गरेमा रूसलाई सन् २०२६ को फिफा विश्वकपमा सहभागी गराउनुपर्ने बताएका छन्। विश्वकप आयोजक कमिटीको पहिलो बैठकमा ट्रम्पले युक्रेनमाथिको युद्ध समाप्त गरेमा रूसलाई विश्वकपमा सहभागी गराउनुपर्नेमा जोड दिएका हुन्। सो बैठकमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो पनि सहभागी थिए। सन् २०२२ मा युक्रेनमाथि आक्रमण थालेदेखि नै विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युनियन अफ युरोपियन फुटबल एसोसिएसन (यूईएफए) ले रूसी फुटबल संघलाई प्रतिबन्ध लगाउँदै आएको छ। ट्रम्पले विश्वमा शान्ति स्थापना हुन्छ भने अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकपमा रूसलाई पनि सहभागी गराउनु पर्नेमा जोड दिएका थिए।
‘फिफा र यूईएफएले रूसी फुटबलमाथि प्रतिबन्ध लगाएको छ। युक्रेनमाथिको हमला रोकेर रुस शान्ति स्थापनामा सहयोगी हुन चाहन्छ भने विश्वकप उसका लागि प्रोत्साहन हुनेछ’, ट्रम्पले भनेका छन्, ‘अहिले युद्धमा एक सातामा पाँच हजार मानिसले ज्यान गुमाइरहेका छन्। यो युद्ध रोकेर शान्ति स्थापना हुन्छ भने हामी लचिलो हुनु पर्दछ।’ ट्रम्पले यसका लागि पहलकदमी थाल्न फिफा अध्यक्ष इन्फान्टिनोलाई विशेष आग्रह गरेका थिए।सन् २०२६ को फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुँदैछ। विश्वकपमा कुल एक सय चार खेलमध्ये फाइनलसहित ७८ वटा खेल अमेरिकामा आयोजना हुँदैछ। जुन खेल विभिन्न १२ वटा स्टेडियममा सञ्चालन हुनेछ। प्रतियोगिता तीन देशका १६ सहरमा आयोजना हुनेछ। यस विश्वकपमा पहिलो पटक ४८ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्। यसअघिका संस्करणमा ३२ राष्ट्रले मात्रै प्रतिस्पर्धा गर्दै आएका थिए।

























