देश/प्रदेश
पाइडल रिक्सा चालकको रोजीरोटीमा क्रमशः समस्या

राँझा (बाँके),असोज २२ –
पाइडल रिक्सा चालकको रोजीरोटीमा क्रमशः समस्या देखापर्दै जान थालेको छ । करिब एक दशकअघिसम्म नेपालगञ्जका सडकमा बज्ने परम्परागत पाइडल रिक्साको विकल्पमा अटोरिक्सा सञ्चालनमा आएपछि पाइडल रिक्सामा यात्रुको आकर्षण घटेसँगै रोजीरोटीमा समस्या आएको हो ।
स्थानीयवासी र व्यापारीका लागि आवतजावत र सामान ढुवानीको सबैभन्दा भरपर्दो रहेको पाइडल रिक्सा प्रविधिको विकाससँगै सहरमा भित्रिएका विद्युतीय रिक्साको दबदबाका कारण परम्परागत पाइडल रिक्सा अहिले पूर्ण रूपमा ओझेलमा परेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका–१२ का मुस्लिम खाँ ले पाइडल रिक्सा चलाएर घरपरिवार पाल्न थालेको दुईदशक भयो । तर, अचेल उहाँको रिक्सामा चढ्न यात्रु मान्दैनन । सवारी मिल्न छोडेपछि रोजीरोटी गुम्ने अवस्थामा रहेको खाँले बताउनुभयो ।
“सबै जना अटोमै चढ्न मन पराउँछन्, हाम्रो रिक्सामा मान्छे बस्नै मन पराउँदैनन्”, खाँले निराश हुँदै भन्नुभयो, “यो रिक्सा चलाएर गुजारा चलाउनै गाह्रो भइसक्यो । अब अरू नै कुनै काम गर्ने सोचमा छु ।”
उहाँका अनुसार, यात्रु पाउन छाडेपछि पाइडल रिक्सा चलाउने करिब ९० प्रतिशत चालकले पेसा परिवर्तन गरिसकेका छन् । आर्थिक रूपमा सक्षम चालकले किस्ताबन्दी वा ऋणधन गरेर विद्युतीय रिक्सा किनेका छन् भने अधिकांशले मजदुरी वा अन्य सानातिना कामधन्दा रोज्न बाध्य भएका छन् ।
सहरका गल्ली र बजारमा अटोको बाक्लो उपस्थिति भएपछि काम पाउन छाडेका पाइडल रिक्सा चालक अहिले नेपाल–भारत सीमावर्ती जमुनाह नाकामा थुप्रिएका छन् ।
नेपालगञ्ज–१३ का रिक्सा चालक गङ्गाराम रैदासका अनुसार पहिले दैनिक रु एक हजारसम्म सजिलै कमाइ हुने गरेकोमा अहिले मुस्किलले रु २०० देखि ३०० मात्र हुन्छ ।
सहरमा यात्रु पाउन छोडेपछि सीमावर्ती क्षेत्रमा सामान ओसारेर जीविकोपार्जन गर्न खोजे पनि त्यहाँ अर्कै सास्ती छ । “जमुनाहबाट भारतीय बजार रुपैडिहा आवतजावत गर्दा दुवै देशका सुरक्षाकर्मीबाट दुःख पाउने गरेका छौँ”, रैदासले आफ्नो दुःख पोख्नुभयो ।
विद्युतीय रिक्साको आगमनले चालकलाई मात्र होइन, यससँग जोडिएका साना व्यवसायीलाई पनि विस्थापित बनाएको छ ।
नेपालगञ्ज–१२ का पुत्तन होली कुनै समय तीन वटा पाइडल रिक्सा भाडामा लगाएर आफैँ मर्मतको काम पनि सम्हाल्ने गर्नुहुन्थ्यो । तर, पाइडल रिक्सा पाखा लागेसँगै उहाँको भाडा उठ्न छाड्यो । बाध्य भएर उहाँले आफ्नो परम्परागत पेसा नै बदलेर अहिले रिक्सा मर्मत गर्ने पुरानो पसलमा पान बेच्न थाल्नुभएको छ ।
नेपालगञ्ज सहरबाट पूर्ण रूपमा विस्थापित भइसकेका यी परम्परागत रिक्सा अहिले जमुनाह नाकामा थुप्रिएका छन् ।
सीमावर्ती भारतीय बजार रुपैडिहामा विद्युतीय रिक्सा इ–रिक्सा प्रवेशमा प्रतिबन्ध लगाइएका कारण पाइडल रिक्साका लागि यो क्षेत्र अन्तिम सहारा बनेको छ ।
जमुनाह इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईका अनुसार, रुपैडिहामा अटो चल्न नदिइने भएकाले जमुनाहदेखि रुपैडिहासम्म यात्रु र सामान ओसारपसार गर्न अझै पाइडल रिक्साकै भीड लाग्ने गरेको छ ।
समयको गति र प्रविधिको विकासले सहरलाई आधुनिक र सहज त बनाएको छ, तर वर्षौंदेखि पसिना बगाएर सहर चलाइरहेका पाइडल रिक्सा चालकको रोजीरोटी भने खोसेको छ ।
विकल्प र पुनःस्थापनाको अभावमा उहाँहरु आफ्नो परम्परागत पेसा छाडेर नयाँ बाटो पहिल्याउन बाध्य भइरहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।रासस























