देश/प्रदेश
धनुषाधाममा बढ्दै पर्यटकीय आकर्षण

राजु विश्वकर्मा ,
जनकपुरधाम, असोज २१ –
मिथिलाको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाको परिचायकका रूपमा रहेको धनुषाधाम पछिल्ला वर्षमा धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको छ । भगवान् श्रीरामसँग जोडिएको धार्मिक विश्वास, रामायणकालीन इतिहास, मिथिला संस्कृति तथा प्राकृतिक सौन्दर्यका कारण धनुषाधाममा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढ्दै गएको हो ।
त्रेतायुगमा भगवान् श्रीरामले शिवधनुष भाँचेपछि त्यसको एक अंश पतन भएको विश्वास गरिएको धनुषाधाम हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण तीर्थस्थल मानिन्छ । यही धार्मिक विश्वासका कारण नेपालका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतबाटसमेत दैनिक ठूलो सङ्ख्यामा श्रद्धालु तथा पर्यटक यहाँ आउने गरेका छन् ।
जनकपुरधामबाट १८ किलोमिटर पूर्वमा अवस्थित धनुषाधाम धार्मिक आस्थाको केन्द्र मात्र नभई सांस्कृतिक, पुरातात्विक तथा प्राकृतिक सम्पदाको समेत महत्वपूर्ण गन्तव्य हो । यहाँ रहेको धनुष मन्दिर, पवित्र सरोवर, प्राचीन वृक्ष, वनस्पति उद्यान, हरियाली वन क्षेत्र तथा शान्त वातावरणले धार्मिक यात्रालाई प्राकृतिक अनुभूतिसँग जोडिदिएको छ ।
धनुषाधाम नगरपालिका–२ का स्थानीय छेबी दासका अनुसार पछिल्लो समय धनुषाधाममा पूजा–आराधनाका लागि आउने श्रद्धालुसँगै घुमफिर, अध्ययन तथा अनुसन्धानका उद्देश्यले आउनेको सङ्ख्या पनि बढेको छ । पहिले स्थानीय तथा आसपासका जिल्लाबाट मात्र बढी श्रद्धालु आउने गरेकोमा अहिले अन्य जिल्लाका साथै भारतबाट समेत पर्यटक तथा धार्मिक यात्रु आउने क्रम बढेको उहाँ बताउनुहुन्छ ।
धनुषाधामको महत्व रामायणकालीन प्रसङ्गसँग जोडिएको छ । जनकपुरमा आयोजित स्वयंवरमा भगवान् श्रीरामले शिवधनुष उठाएर प्रत्यञ्चा चढाउने क्रममा धनुष भाँचिएको र त्यसको एक अंश धनुषाधाम क्षेत्रमा आएर खसेको धार्मिक विश्वास रहिआएको छ । यही विश्वासले धनुषाधामलाई हिन्दू धर्मावलम्बीको विशेष आस्थाको केन्द्र बनाएको धनुषाधाम मन्दिरका पुजारी भरत दास बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “कहिलेकाहीँ मात्र भारतीय पर्यटक आउँथे तर राम जन्मभूमि अयोध्यामा राममन्दिर बनेपछि यहाँ पनि भारतीय पर्यटक आउने क्रम बढेको हो ।”
पुजारी दासका अनुसार अहिले दैनिक पाँच सयदेखि आठ सयसम्म भारतीय पर्यटक तथा श्रद्धालु धनुषाधाम आउने गरेका छन् । विशेष पर्व तथा धार्मिक अवसरमा भने यहाँ आउने श्रद्धालुको सङ्ख्या अझ बढ्ने गरेको उहाँले बताउनुभयो ।
धनुषाधाम क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटकको आगमन बढ्नुले स्थानीय व्यवसायमा समेत सकारात्मक प्रभाव पारेको छ । होटल, लज, पसल, फूलमाला, प्रसाद तथा अन्य धार्मिक सामग्रीको बिक्री बढेको स्थानीय व्यवसायी बताउँछन् ।
स्थानीय व्यवसायी लोचन साहका अनुसार विशेष पर्वका समयमा धनुषाधाममा उल्लेख्य चहलपहल हुने गरेको छ । “पर्यटक तथा श्रद्धालु बढेपछि होटल, लज, पसल र साना व्यवसायमा कारोबार बढेको छ । स्थानीय उत्पादन, फूलमाला, प्रसाद तथा हस्तकलाका सामग्रीको बिक्रीमा पनि वृद्धि भएको छ”, उहाँ भन्नुहुन्छ ।
धार्मिक पर्यटकको आगमनले स्थानीय युवालाई स्वरोजगारका अवसरसमेत सिर्जना गर्न थालेको उहाँको भनाइ छ । पर्यटकका लागि आवश्यक सेवा तथा सामग्री उपलब्ध गराउने व्यवसाय विस्तार हुँदा स्थानीयस्तरमा आम्दानीको स्रोत बढ्दै गएको छ ।
धनुषाधामलाई बृहत् धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य रहेको पुजारी दास बताउनुहुन्छ । उहाँका अनुसार धनुषाधामको धार्मिक महत्वलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन सङ्घीय, प्रदेश तथा स्थानीय तीनै तहका सरकारबीच समन्वय आवश्यक छ ।
“धनुषाधामलाई बृहत् धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने सपना हो”, पुजारी दास भन्नुहुन्छ, “त्यही सपनालाई मूर्त रूप दिन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई आग्रह गर्दै आएका छौँ ।”
उहाँका अनुसार सङ्घीय सरकारको सहयोगमा मन्दिर परिसरमा ढलानलगायत केही पूर्वाधार निर्माणका काम भएका छन् । प्रदेश सरकारबाट समेत थप सहयोगको आश्वासन प्राप्त भएको उहाँले बताउनुभयो ।
धनुषाधाममा वर्षभरि नै धार्मिक गतिविधि हुने गरे पनि माघे औँसी, रामनवमी, विवाहपञ्चमी, एकादशी तथा अन्य महत्वपूर्ण पर्वका अवसरमा विशेष भीड लाग्ने गरेको छ । यस्ता अवसरमा नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु आउने गरेका छन् । स्थानीय सरकारले योजनाबद्ध ढङ्गले पूर्वाधार विकास गर्न सके धनुषाधाम मिथिलाञ्चलकै ठूलो धार्मिक तथा पर्यटकीय केन्द्र बन्न सक्ने स्थानीयवासीको विश्वास छ ।
धनुषाधामको विशेषता धार्मिक महत्वमा मात्र सीमित छैन । यहाँको प्राकृतिक सौन्दर्य पनि पर्यटकका लागि आकर्षणको विषय बनेको छ । मन्दिर परिसरको शान्त वातावरण, हरियाली वन क्षेत्र, खुला आकाशमुनिको प्राकृतिक दृश्य तथा जैविक विविधताले पर्यटकलाई फरक अनुभूति दिने गरेको छ । पछिल्ला वर्षमा विकसित वनस्पति उद्यानले धनुषाधामलाई धार्मिक पर्यटनसँगै पर्यावरणीय पर्यटनको सम्भावना बोकेको गन्तव्यका रूपमा समेत चिनाउन थालेको धनुषाधाम वनस्पति उद्यानका प्रमुख मो। ताहिर हुसेन बताउनुहुन्छ ।
धार्मिकस्थलको भ्रमणसँगै प्रकृति अवलोकन, वनस्पति अध्ययन तथा जैविक विविधताको अनुभव लिन चाहनेका लागि धनुषाधाम उपयुक्त गन्तव्य बन्न सक्ने उहाँ बताउनुहुन्छ । ३६० हेक्टर क्षेत्रफलमा फैलिएको धनुषाधाम वनक्षेत्रभित्र चिडियाखाना निर्माण गर्ने योजना अघि सारिएको छ ।
धनुषाधाम वनक्षेत्रभित्र रहेको पानी कहिल्यै नसुक्ने बान गङ्गा तथा वनक्षेत्रमा रहेका दक्षिण एसियामै लोपोन्मुख अवस्थामा रहेको ‘ग्रे हर्नबिल’ लगायतका चराचुरुङ्गीको संरक्षणसँगै चिडियाखाना निर्माण भएपछि पर्यटकको आकर्षण थप बढ्ने र धनुषाधाममा पर्यटकको बसाइ अवधिसमेत लम्ब्याउन सकिने वनस्पति उद्यानका प्रमुख हुसेनको विश्वास छ ।
धनुषाधामलाई जनकपुरधामसँग जोडेर ‘रामायण सर्किट’का रूपमा विकास गर्न सके धार्मिक पर्यटनमा ठूलो सम्भावना रहेको स्थानीय व्यवसायीको भनाइ छ । स्थानीय व्यवसायी लोचन साहका अनुसार भारतको अयोध्या, सीतामढी, जनकपुरधाम हुँदै धनुषाधामसम्म जोडिने धार्मिक मार्ग निर्माण तथा प्रवद्र्धन गर्न सके अन्तरदेशीय धार्मिक पर्यटन विस्तारमा महत्वपूर्ण योगदान पुग्न सक्छ । अयोध्यामा राममन्दिर निर्माणपछि भगवान् श्रीरामसँग सम्बन्धित धार्मिकस्थलप्रति भारतीय श्रद्धालुको चासो बढिरहेको अवस्थामा धनुषाधामले पनि त्यसबाट लाभ लिन सक्ने उहाँको विश्वास छ ।
नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध पुरानो रहेकाले जनकपुरधाम र अयोध्याबीचको धार्मिक सम्बन्धलाई धनुषाधामसम्म विस्तार गर्न सके यस क्षेत्रको पर्यटन विकासमा नयाँ सम्भावना खुल्ने स्थानीयवासी बताउँछन् ।
धनुषाधाममा पर्यटकको आगमन बढेसँगै स्थानीय सरकारले भौतिक पूर्वाधारको विकासमा जोड दिएको छ । धनुषाधाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिन भट्टराईका अनुसार धार्मिक पर्यटनलाई व्यवस्थित र आकर्षक बनाउन मन्दिर क्षेत्रको सौन्दर्यीकरण, सडक सुधार, सरसफाइ, विश्रामस्थल निर्माण, खानेपानी तथा शौचालय व्यवस्थापनलगायतका पूर्वाधार विकासका कामलाई प्राथमिकता दिइएको छ ।
“धार्मिक सम्पदाको संरक्षणसँगै पर्यटकमैत्री वातावरण निर्माण गर्न विभिन्न योजना कार्यान्वयन भइरहेका छन्”, उहाँ भन्नुहुन्छ, “धनुषाधामलाई व्यवस्थित धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण र संरक्षणका कामलाई प्राथमिकता दिएका छौँ ।”
धनुषाधाममा पर्यटकको सङ्ख्या बढ्दै गए पनि फोहोर व्यवस्थापन, पर्याप्त पार्किङ, सूचना केन्द्र, दक्ष पर्यटक पथप्रदर्शक, डिजिटल सूचना प्रणाली तथा पर्याप्त आवास सुविधाको आवश्यकता अझै रहेको स्थानीय सरोकारवालाको भनाइ छ । पर्यटकको बढ्दो चापलाई व्यवस्थित गर्न तत्कालीन र दीर्घकालीन योजना आवश्यक रहेको स्थानीयको कथन छ । धार्मिकस्थलको मौलिकता जोगाउँदै आधुनिक पर्यटकीय सुविधा विस्तार गर्न सके धनुषाधामको आकर्षण अझ बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो समय धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको धनुषाधामलाई संस्कृति र स्थानीय अर्थतन्त्रसँग जोड्नुपर्ने बुद्धिजीवीको सुझाव छ ।
संस्कृतिविद् तथा मधेश प्रदेशसभाका सभामुख रामअशिष यादव धार्मिक पर्यटनलाई केवल मन्दिर दर्शनमा सीमित नगरी स्थानीय संस्कृति, मिथिला कला, परम्परागत खानपान, लोकसङ्गीत तथा प्राकृतिक सम्पदासँग जोड्नुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार धार्मिक पर्यटनले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै सांस्कृतिक सम्पदाको संरक्षणमा समेत महत्वपूर्ण योगदान पु¥याउन सक्छ ।
“धार्मिक पर्यटनलाई मन्दिर दर्शनमा मात्र सीमित गर्नु हुँदैन”, उहाँ भन्नुहुन्छ, “यसलाई स्थानीय संस्कृति, मिथिला कला, परम्परागत खानपान, लोकसङ्गीत र प्राकृतिक सम्पदासँग जोड्न सक्नुपर्छ ।”
धनुषाधामलाई जैविक उद्यानका रूपमा विकास गर्न सकिए यसबाट पर्यटकको बसाइ अवधि बढ्नुका साथै स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र सांस्कृतिक सम्पदाको संरक्षणमा समेत सहयोग पुग्ने उहाँको भनाइ छ ।
धनुषाधाममा आउने धेरै श्रद्धालुले धार्मिक आस्थासँगै शान्त वातावरण, प्राकृतिक हरियाली र आध्यात्मिक अनुभूतिको खोजी गर्ने गरेका छन् । यसले धनुषाधामलाई केवल पूजा गर्ने स्थल नभई मानसिक शान्ति, पारिवारिक भ्रमण तथा धार्मिक अध्ययनका लागि समेत उपयुक्त गन्तव्यका रूपमा स्थापित गर्दै गएको छ । धनुषाधामको धार्मिक तथा प्राकृतिक सम्पदा संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्नु अहिलेको प्रमुख आवश्यकता देखिएको छ । पर्यटकको सङ्ख्या बढ्दै जाँदा सम्पदामा पर्ने सम्भावित दबाबलाई ध्यानमा राखेर फोहोर व्यवस्थापन, वातावरण संरक्षण, व्यवस्थित पार्किङ तथा पर्यटकको आवागमन व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने स्थानीय सरोकारवालाको भनाइ छ ।
धार्मिक सम्पदाको संरक्षण, प्राकृतिक वातावरणको जगेर्ना तथा आधुनिक पर्यटकीय पूर्वाधार निर्माणबीच सन्तुलन कायम गर्न सके धनुषाधाम दीर्घकालीन रूपमा आकर्षक गन्तव्य बन्न सक्नेछ । धनुषाधामको विकास केवल एउटा धार्मिकस्थलको विकास नभई मिथिलाको इतिहास, संस्कृति र प्राकृतिक सम्पदाको संरक्षणसँग समेत जोडिएको विषय हो । त्यसैले यसको विकासमा सङ्घीय, प्रदेश र स्थानीय सरकार, निजी क्षेत्र तथा स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको सभामुख यादवको बुझाइ छ ।
धार्मिक आस्था, रामायणकालीन इतिहास, प्राकृतिक सम्पदा र स्थानीय आतिथ्य संस्कृतिको अनुपम सङ्गम बनेको धनुषाधाम आज श्रद्धालु तथा पर्यटकको रोजाइमा पर्दै गएको छ । आवश्यक पूर्वाधार निर्माण, प्रभावकारी प्रचारप्रसार, स्थानीय संस्कृति र उत्पादनको प्रवद्र्धन तथा सम्पदाको दिगो संरक्षणमा जोड दिन सके धनुषाधामले मधेश प्रदेशको धार्मिक पर्यटन विकासमा मात्र नभई नेपालको समग्र पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउन सक्ने देखिन्छ । धनुषाधामलाई अयोध्या–सीतामढी–जनकपुरधामसँग जोड्दै अन्तरदेशीय धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सके यस क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक गतिविधिमा समेत उल्लेख्य परिवर्तन ल्याउन सक्ने सम्भावना छ । रासस























