राजनीति

क्यान्सर अस्पतालमा असोज २६ देखि आकस्मिक तथा बिदाको सेवा प्रभावित हुने चेतावनी, २२ मेडिकल अधिकृतद्वारा अल्टिमेटम

०
Banner

चितवन, असोज १६-

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत २२ जना मेडिकल अधिकृतले आफ्ना पेसागत, आर्थिक तथा क्लिनिकल माग तत्काल सम्बोधन गर्न माग गर्दै अस्पताल प्रशासन र सञ्चालक समितिसमक्ष अल्टिमेटम दिएका छन्।

अस्पतालका निमित्त कार्यकारी निर्देशकलाई आज ज्ञापनपत्र बुझाउँदै चिकित्सकहरूले असोज २५ गतेभित्र मागको ठोस सम्बोधन नभए असोज २६ गते बिहान ९ बजेदेखि नियमित कार्यालय समयको ८ घण्टे ड्युटीमा मात्र खटिने चेतावनी दिएका छन्। त्यसबाहेकका इभिनिङ, नाइट तथा सार्वजनिक बिदाका १२ घण्टे सिफ्ट बहिष्कार गर्ने उनीहरूको भनाइ छ।

अस्पताल नेतृत्वविहीन भएको अवस्थामा बिरामी सेवा प्रभावित नहोस् भनेर चिकित्सक र अस्पताल प्रशासनबीच २०८३ जेठ ४ गते अन्तरिम सहमति तथा प्रतिबद्धता पत्र भएको थियो। दर्ता नम्बर २३०७ रहेको उक्त सहमतिअनुसार नयाँ सञ्चालक समिति गठन नभएसम्म अतिरिक्त समय काम गरेबापत ओभरटाइम रकमको सट्टा १ः१ अनुपातमा दिने सहमति भएको चिकित्सकहरूको भनाइ छ।

सोहीअनुसार चिकित्सकहरूले नियमित कार्यालय समयबाहेक अतिरिक्त सेवा दिँदै आएका थिए। नियमित कार्यालय दिनमा ८ घण्टे ड्युटीपछि साँझ ४ घण्टे इभिनिङ ओटी र राति १२ घण्टे नाइट सिफ्ट सञ्चालन हुँदै आएको थियो। त्यस्तै, शनिबार, आइतबार तथा सार्वजनिक बिदाका दिन आकस्मिक कक्ष, वार्ड र आईसीयू सेवा सञ्चालनका लागि बिहान ९ बजेदेखि राति ९ बजेसम्म १२ घण्टे डे सिफ्ट तथा राति ९ बजेदेखि बिहान ९ बजेसम्म १२ घण्टे नाइट सिफ्टमा चिकित्सक खटिँदै आएका थिए।

हाल सञ्चालक समिति गठन भइसकेको र बोर्ड बैठकसमेत नियमित रूपमा बस्न थालेकाले उक्त अन्तरिम सहमतिको औचित्य र अवधि समाप्त भएको चिकित्सकहरूको दाबी छ। जनशक्ति अभावका कारण सञ्चित सट्टा बिदासमेत उपभोग गर्न नपाएको र सञ्चालक समिति गठन भइसकेपछि पनि अतिरिक्त श्रमलाई निरन्तरता दिइएकाले पूर्वनिर्धारित रोस्टरअनुसार असोज २५ गतेसम्म मात्र अतिरिक्त सेवा दिने उनीहरूले बताएका छन्।

मेडिकल अधिकृतहरूले समान तहमा तलबमा विभेद गरिएको भन्दै त्यसलाई तत्काल सच्याउन माग गरेका छन्। उनीहरूका अनुसार अस्पतालको आठौँ तहमा कार्यरत नर्सिङ अधिकृतको मासिक आधारभूत तलब ८१,६२३ रुपैयाँ कायम हुँदा सोही तहका मेडिकल अधिकृतलाई ७९,०१५ रुपैयाँ मात्र दिइएको छ। समान तहमा रहेको तलबसम्बन्धी उक्त विभेद अन्त्य गर्नुपर्ने उनीहरूको माग छ।

त्यस्तै, कुनै आधिकारिक पूर्वसूचनाबिना असार महिनाको तलबबाट एकमुष्ट काटिएको रकम तथा रोकिएका भत्ता फिर्ता गर्नुपर्ने माग चिकित्सकहरूको छ।
जेठदेखि अतिरिक्त समय खटिएबापत सञ्चित भएको सट्टा बिदा जनशक्ति अभावका कारण उपभोग गर्न नपाएकाले त्यसको नियमसम्मत आर्थिक शोधभर्ना हुनुपर्ने उनीहरूले माग गरेका छन्।

मेडिकल अधिकृतहरूको सेवा करार कार्यसम्पादन मूल्याङ्कनका आधारमा निरन्तर नवीकरण गर्नुपर्ने र हाल कायम दुई वर्षे बाध्यात्मक करार सीमा हटाउनुपर्ने मागसमेत पत्रमा उल्लेख छ। चिकित्सकहरूले बिरामी सुरक्षासँग सम्बन्धित विषयसमेत उठाएका छन्। इमर्जेन्सीलाई ‘एक्युट अंकोलोजी सर्भिस’ नामकरण गरिए पनि आवश्यक अंकोलोजी नर्सिङ स्टाफ र कन्सल्ट्यान्ट विशेषज्ञ परिचालन नगरिएको उनीहरूको आरोप छ।

यसका कारण आकस्मिक सेवाको ठूलो जिम्मेवारी एउटै मेडिकल अधिकृतमाथि परेको र यसले बिरामी सुरक्षामा जोखिम बढाएको चिकित्सकहरूको दाबी छ। त्यस्तै, भेन्टिलेटरमा रहेका गम्भीर बिरामीको उपचार हुने आईसीयू तथा एचडीयूमा ‘डेडिकेटेड क्रिटिकल केयर टिम’को व्यवस्था नहुँदा क्यान्सरका जटिल बिरामीको उपचारमा चुनौती थपिएको र चिकित्सकहरूमाथि अत्यधिक कार्यभार तथा तनाव सिर्जना भएको उनीहरूले बताएका छन्। अस्पतालको २४ घण्टे आकस्मिक तथा अन्तरंग सेवा नियमित रूपमा सञ्चालन गर्न चिकित्सकहरूले बोर्ड बैठकमार्फत तत्काल दुईमध्ये एक विकल्प कार्यान्वयन गर्न माग गरेका छन्।

चिकित्सकहरूले बुझाएको पत्रको बोधार्थ अस्पताल सञ्चालक समिति, श्रम तथा रोजगार कार्यालय हेटौँडा, नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालय तथा जिल्ला प्रशासन कार्यालय, चितवनलाई पठाइएको छ। असोज २५ गतेभित्र अस्पताल प्रशासन र सञ्चालक समितिले मागको ठोस निकास नदिए असोज २६ गतेदेखि इभिनिङ, नाइट तथा सार्वजनिक बिदाका दिन सञ्चालन हुने १२ घण्टे ड्युटी प्रभावित हुने चिकित्सकहरूले चेतावनी दिएका छन्। त्यसबाट बिरामी सेवामा पर्न सक्ने असरको जिम्मेवारी अस्पताल प्रशासन तथा सञ्चालक समितिले लिनुपर्ने उनीहरूको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>