समाचार
पशुपतिमा आउने नागा साधुबारे सर्वोच्चको ठहरः धार्मिक स्वतन्त्रता र परम्पराको अभिन्न अंग

काठमाडौं,भदौ १०-
सर्वोच्च अदाललते पशुपति क्षेत्रमा नागा बाबा (साधु)हरुलाई निषेध गर्न अस्वीकार गरेको छ। भारतका विभिन्न स्थानबाट आउने नागा बाबाहरुलाई पशुपति परिसरमा प्रवेश निषेध गर्दा सनातनदेखि चलिआएको परम्परामा नै हस्क्षेप हुन जाने सर्वोच्चको मूल्यांकन छ।
शिवरात्री पर्वका बेला पशुपतिनाथ क्षेत्रमा नागा साधुहरूले धार्मिक परम्पराको नाउमा अश्लील कार्य गरेको हुँदा उनीहरुलाई रोक लगाउन माग गर्दै अधिवक्ता यज्ञमणि न्यौपानले दायर गरेको रिट निवेदन खारेज गरेको हो। २०७४ सालमा दायर भएको रिटमा न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासले नागा बाबाहरुका कारण अश्लिलता भयो भन्न नमल्निे ठहर गरेको हो।
संयुक्त इजलासले नागा साधुहरूको क्रियाकलापलाई धार्मिक स्वतन्त्रता र परम्पराको अभिन्न हिस्सा मान्नुपर्ने ठहर गरेको छ। रिट निवेदनमा नागा साधुहरूले पशुपति क्षेत्रमा अश्लीलता र सार्वजनिक शिष्टाचार विपरीतका गतिविधिहरू प्रदर्शन गरेको, लागुपदार्थ सेवन गर्ने, यौन हिंसात्मक क्रियाकलापमा संलग्न हुने र बालबालिकाको शोषण गर्ने गरेको दाबी गरेका थिए।
यस्ता गतिविधिहरू नेपालको संविधानले प्रत्याभूत गरेका धार्मिक स्वतन्त्रता, सार्वजनिक नैतिकता र मानव अधिकारसम्बन्धी हकको विपरीत भएको दाबी गर्दै उनीहरूलाई पशुपति क्षेत्रमा प्रवेशमा रोक लगाउन र त्यस्ता अश्लील गतिविधि बन्द गर्न माग गरेका थिए। धार्मिक स्वतन्त्रताको हक नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानुनले समेत प्रत्याभूत गरेको अवस्थामा व्यक्तिले आफ्नो धर्म मान्ने, अभ्यास गर्ने र संरक्षण गर्ने स्वतन्त्रता रहेको सर्वोच्चको ठहर छ।
सर्वोच्चले साधुहरूको शरीरमा भस्म लगाएर नाङ्गो वा कम वस्त्रमा रहने अवस्थाले अश्लीलता भन्न नमिल्ने ठहर गरेको छ। साधुहरुको उद्देश्य कामुकता बढाउनु नभई वैराग्य र भक्ति प्रदर्शन भएकाले उनीहरुलाई रोक लगाउन आवश्यक नभएको आदेश सर्वोच्चको छ। अश्लिलताको परिभाषा परिस्थिति, समय र सामाजिक स्वीकार्यतामा आधारित हुने तथा नागा साधुहरूको परम्परागत पहिरनलाई तत्काल अश्लील मान्न नसकिने अदालतको राय छ।

























