देश/प्रदेश
भैरहवा र आसपास छठ पर्वको तयारी अन्तिम चरणमा, सुरक्षा र व्यवस्थापनमा विशेष जोड

राधेश्याम विश्वकर्मा,
रुपन्देही ,कात्तिक २८ –
सूर्यदेव र छठी माताको आराधना गरी मनाइने आस्थाको महापर्व छठलाई लक्षित गर्दै भैरहवा तथा आसपासका क्षेत्रमा तयारी तीव्र पारिएको छ । छठ पर्व नजिकिएसँगै पूजा स्थलको सरसफाइ, घाट तथा बेदी निर्माण, शान्ति सुरक्षा र सवारीसाधन पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।
रुपन्देहीको सिद्धार्थनगरस्थित श्रीराम जानकी हनुमान मन्दिर परिसर, कालीभक्ति गण, गोनहिया, बालापिर लगायतका छठ घाटहरुमा छठ पूजाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको व्यवस्थापन समितिले जनाएको छ । छठ पर्वमा हजारौँ श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षासहित समितिले पूजा व्यवस्थापनदेखि सुरक्षा र यातायात व्यवस्थापनसम्मका कामलाई तीव्रता दिएको हो ।
श्रीराम जानकी हनुमान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र रौनियारले छठ पर्वका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार व्रतालु तथा श्रद्धालु भक्तजनलाई सहज रूपमा पूजा आराधना गर्ने वातावरण बनाउन बेदी निर्माण तथा व्यवस्थापनको काम भइरहेको छ ।
पर्वमा सहभागी हुने भक्तजनको भीडलाई व्यवस्थित गर्न पार्किङको उचित प्रबन्ध मिलाइएको र शान्ति सुरक्षालाई समेत विशेष प्राथमिकता दिइएको अध्यक्ष रौनियारले बताए । उनले पर्वका क्रममा कुनै असहज अवस्था सिर्जना हुन नदिन आवश्यक सतर्कता अपनाइएको उल्लेख गरे ।
अध्यक्ष रौनियारले राज्य, धर्म र संस्कृतिलाई राजनीतिसँगै जोडेर नभई आपसी सहकार्य र सम्मानका साथ अगाडि बढाउन सरकारसँग आग्रह गरे । नेपाली समाजको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थाले सामाजिक एकता तथा राष्ट्रिय सद्भावलाई बलियो बनाउने उनको भनाइ छ ।
यस्तै गोनहिया छ्ठ पूजा समितिका अध्यक्ष विरेन्द्र कुर्मीले गोनहियामा विगत ५ वर्ष देखि स्थाइ वेदीहरु निर्माण गरि छठ पूजा गरिएको बताए । उनले छठ पूजामा ब्रतालु महिलाहरुलाइ ख्याल गरि लखनउबाट जागरण टोलीको विषेश प्रस्तुति रहने बताए ।
छठ पर्वले धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिने गरेको कुर्मीले बताए । जीव कल्याण, विश्व शान्ति तथा सन्तानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै मनाइने यस पर्वप्रति पछिल्लो समय विश्वभर आकर्षण बढ्दै गएको उनको भनाइ छ ।
विशेषगरी तराई–मधेस समुदायमा परम्परागत रूपमा मनाइँदै आएको छठ पर्व अहिले पहाडी, मधेसीलगायत सबै समुदायको साझा सांस्कृतिक उत्सवका रूपमा स्थापित हुँदै गएको छ । जातजाति, भाषा र क्षेत्रको सीमाभन्दा माथि उठेर विभिन्न समुदायका मानिसहरू छठ पूजाको तयारी र व्यवस्थापनमा सहभागी हुनुले सामाजिक एकताको सुन्दर उदाहरण प्रस्तुत गरेको छ ।
भैरहवा, सिद्धार्थनगर तथा आसपासका क्षेत्रमा पनि छठ पर्वलाई सामूहिक रूपमा मनाउने उत्साह बढ्दै गएको छ । जलाशय, नदी, पोखरी तथा पूजा स्थलमा श्रद्धालुहरूको चहलपहल बढेको छ भने स्थानीय स्तरमा सरसफाइ, सजावट र व्यवस्थापनका काम भइरहेका छन् ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने छठ पर्वले प्रकृति, पर्यावरण र मानव जीवनबीचको सम्बन्धलाई समेत उजागर गर्छ । धार्मिक आस्था, अनुशासन, पवित्रता र सामूहिक सहभागिताको प्रतीक बनेको छठले भैरहवासहित रुपन्देहीको सामाजिक तथा सांस्कृतिक एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
























