समाचार

समाचार प्रकाशित गरेकै कारण सरकारले जबर्जस्ती गर्न खोज्योः पत्रकार पाठक

Banner

काठमाडौँ, जेष्ठ २८-

पत्रकार दिलभुषण पाठकले समाचार प्रकाशित गरेकै कारण सरकारले जबर्जस्ती गर्न खोजेको बताएका छन् । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएसँगै पत्रकार पाठकले प्रेस काउन्सिल नेपालमा निवेदन दिँदै आफूलाई विद्युतीय अपराध ऐन आकर्षित गरेर कारबाही गर्न खोजिएकाले गम्भीर आशंका उब्जिएको बताएका हुन् ।

टफटक विथ दिलभुषण पाठक नामको युट्युब च्यानलमा तीन साताअघि प्रसारित एक सामग्रीलाई लिएर नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको छ । सम्बन्धित प्रहरी अधिकारीले भने यसबारेमा कुनै स्पष्ट जानकारी नदिएको र उजुरीका बारेमा केही नखुलाएको पाठकको भनाइ छ ।

‘मैले प्रसारण गरेको सामग्रीका विषयमा कुनै असहमति, गुनासो वा फरक मत भएमा सबैभन्दा पहिला मसँग अनि त्यसमा पनि चित्त नबुझेमा प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने र त्यसमाथि प्रेस काउन्सिलले नै अनुसन्धान तथा छानबिन गर्नुपर्ने कानुनी व्यवस्था रहँदा रहँदै किन विद्युतीय अपराध ऐन आकर्षित गर्न खोजियो र फौजदारी कानुनमार्फत कारबाही गर्न खोजियो भन्ने कुराले गम्भीर आशंका उब्जाएको छ। त्यसमाथि सम्बन्धित अधिकारीहरुले उजुरी र आरोपका बारेमा कुनै जानकारी नदिने एकैचोटी बलपूर्वक पक्राउ गर्न खोजिनुले आशंकासँगै अनेकन प्रश्न उब्जाएको छ,’ पाठकले निवेदनमा भनेका छन् ।

पत्रकार पाठकले आफूविरुद्ध लगाइएका आरोप र उठाइएका प्रश्नहरूबारे जानकारी नपाएकाले प्रेस काउन्सिलसँग सहयोग पनि मागेका छन् । उनले निवेदनमा अगाडि भनेका छन्, ‘अहिलेसम्म औपचारिक रुपमा मैले मविरुद्ध परेको उजुरी, ममाथि लगाइएको आरोप र उठाइएका प्रश्न के के हुन् भन्ने जानकारी नपाएकाले सम्बन्धित निकाय तथा अधिकारीबाट त्यसको जानकारी माग गरी सहयोग गरिदिनु हुन अनुरोध गर्दछु । योसँगै समाचार सामग्री प्रसारण गरेकै आधारमा सरकारबाट गर्न खोजिएको जबरजस्ती रोक्न आवश्यक कदम चाल्नु हुन पनि अनुरोध गर्दछु ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>