समाज

जीवनोपयोगी सीप सिकाउँदै स्थानीय तह

Banner

दमौली तनहुँ, जेठ ७-

यहाँका युवावर्गलाई लक्षित गर्दै जीवनोपयोगी सीप सिकाउन थालिएको छ । स्थानीयलाई स्वरोजगार बनाउने उद्देश्यसहित स्थानीय तहद्वारा ‘युवा लक्षित कार्यक्रम’अन्तर्गत विभिन्न सीप सिकाउन थालिएको हो ।

व्यास नगरपालिका–३ वडा कार्यालयले युवालक्षित जीवनोपयोगी सीप सिकाएर आत्मनिर्भरतातर्फ लैजाने उद्देश्यले कपाल काट्ने र सौन्दर्यकलासम्बन्धी सीपमूलक तालिम दिन थालेको हो ।

युवालाई लक्षित गरी कपाल काट्नेसम्बन्धी दुई महिने तालिम सञ्चालन गरिएको वडा सदस्य दधिराज घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्वरोजगारमूलक तालिमलाई प्राथमिकता दिँदै युवालाई आर्थिक आम्दानीमा जोड्ने उद्देश्यसहित तालिक सञ्चालन गरिएको हो । गत वर्ष पनि सीपमूलक तालिम प्रदान गरेका थियौँ ।”

वडाले सञ्चालन गरेको कपाल काट्ने तालिममा १५ युवा र सौन्दर्यकला तालिममा १५ जना युवतीको सहभागिता रहेको घिमिरेले जानकारी दिनुभयो ।

व्यास–३ का वडाध्यक्ष अनुप रानाले स्थानीयको माग अनुसार युवालक्षित कार्यक्रम सञ्चालन गर्दै आइएको बताउनुभयो । उहाँले भन्नुभयो, “युवायुवतीलाई सीप सिकाएर सक्षम, स्वरोजगार र आम्दानीका स्रोत सुनिश्चित गर्ने लक्ष्य पालिकाको हो । युवायुवतीले जुन तालिमको माग गर्नुहुन्छ सोही अनुसार तालिम दिन थालेका छौँ ।”

कपाल काट्ने तालिम लिनुभएका गौरव धमेलले सीप सिकेपछि भविष्यमा आफैँले व्यवसाय गर्ने योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “जीवनोपयोगी सीप सिकेपछि भोलिका दिनमा आफैँ स्वरोजगार बन्न सकिन्छ । विदेश जाँदा पनि सीप सिकेर गएमा थप उपलब्धिमूलक हुनेछ ।”

ह्याण्डसम पार्लरका सञ्चालक मोविन मोहम्मदले तालिममा सहभागी युवालाई कपाल काट्ने प्रयोगात्मक सीपबारे जानकारी गराउनुभएको छ ।

म्याग्दे गाउँपालिकाले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यअनुसार युवाको मागबमोजिम सीपमूलक तालिम सञ्चालनको तयारी गरेको छ । गाउँपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत क्रिष्टलका गहना, हर्पिक, फिनेल, झोल साबुन उत्पादन, कफी बनाउने ९वारिष्टा०, कला संस्कृतिका लागि पञ्चेबाजा बजाउने, कुकिङलगायत तालिम सञ्चालनको तयारी गरिरहेको गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सीप सिकाउँदै उद्यमी बन्न चाहनेका लागि घरधुरी सर्वेक्षण, अभिमुखीकरण र उद्यमशीलता विकास तालिम सञ्च्चालन भइरहेका छन् । चालु आर्थिक वर्षमा म्याग्दे–३, ४, ५ र ६ का ७५ जनालाई सीपमूलक तालिम दिने योजना रहेको उहाँले बताउनुभयो ।

न्यौपानेले भन्नुभयो, “लघु, घरेलु तथा साना उद्योगमा कम लगानी रहने भएकाले सीपमार्फत सहज रूपमा व्यवसाय सञ्चालन गर्न सकिने लक्ष्यसहित यसतर्फ युवायुवतीको आकर्षण बढेको छ ।” पालिकाले पनि स्थानीयको मागअनुसार तालिम सञ्चालन गर्दै आइरहेको उहाँको भनाइ छ ।

तालिमबाट स्थानीयस्तरमा आर्थिक क्रियाकलाप वृद्धि गरी नवप्रवर्द्धनको अवधारणालाई अवलम्बन गर्ने, समावेशी र दिगो स्थानीय आर्थिक वृद्धिको प्रवर्द्धन गर्ने, अन्तर स्थानीय तहमा नवीनता, असल अभ्यास र सिकाइ आदानप्रदान गर्ने, स्थानीय आर्थिक विकासका क्रियाकलापमा निजी, सामुदायिक र सहकारी क्षेत्रको अधिकतम परिचालन गर्नेलगायत लक्ष्य गाउँपालिकाको रहेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने, स्थानीय तहमा आर्थिक समृद्धि हासिल गर्ने, युवालाई आत्मनिर्भर बनाउने, स्थानीय उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, उद्यमशीलता प्रवर्द्धन गरी रोजगारी र आय वृद्धि गर्नेलगायत लक्ष्य पालिकाले लिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>