समाचार
मुस्ताङमा जलवायु परिवर्तनको असरः कम पानी पर्ने ठाउँमा भारी वर्षा

गण्डकी, वैशाख ३०-
नेपाल प्रेस युनियनद्वारा आयोजित ‘लोमन्थाङ इन्टरनेशनल मिडिया समिट’ अन्तर्गत आज जोमसोममा सम्पन्न ‘जोमसोम क्लाइमेट वक्र्ससप’ कार्यक्रममा विगतमा कम पानी पर्ने जिल्लामा ‘आरी घोप्टे’ अर्थात् भारी वर्षा हुने गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
विश्वका बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा सञ्चार क्षेत्रले भोग्नुपरेका समस्या, दक्षिण एसियाको पत्रकारिताको प्रभाव, प्रेस स्वतन्त्रता र नेपाली पत्रकारितालगायत विषयमा छलफल गर्नेगरी युनियनले गरेको मिडिया समिटअन्तर्गतको जोमसोममा आयोजित कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तले पारिरहेको प्रभावका सम्बन्धमा विभिन्न भनाइ राख्नुभएको थियो ।
नेपाल पत्रकार महासङ्घ मुस्ताङका संस्थापक अध्यक्ष भीम रसाइलीले नेपालकै कम पानी पर्ने जिल्ला मुस्ताङमा पछिल्लो समयमा आरी घोप्टे वर्षा हुने गरेको र त्यसले कृषिलगायतका क्षेत्र प्रत्यक्ष प्रभावित भएको बताउनुभयो ।जलवायुु परिवर्तनले मुस्ताङको कृषि क्षेत्रमा प्रत्यक्ष असर पार्नुका साथै मौषमको प्रतिकूलतासँगै बाढी पहिरोलगायतका विभिन्न प्रकोप बेहोर्नुपरेको रसाइलीले बताउनुभयो ।
सुन्दर मुस्ताङलाई जलवायुु परिवर्तनका कारण पर्ने असरबारे आजैदेखि ध्यान दिनु जरूरी रहेको बताउँदै उहाँले यहाँको धार्मिक महत्त्वको मुक्तिनाथ मन्दिर व्यवस्थालगायतलाई प्रभावकारी बनाउनुु जरूरी भएको धारणा राख्नुभयो ।जलवायु परिवर्तनकै कारण खानेपानी मुहान सुकेकै कारण गाउँलाई नै स्थानान्तरण गर्नुुपरेको नेपाल पत्रकार महासङ्घका अध्यक्ष सुनदेवी रसाइलीले धारणा राख्नुभयो ।
“जलवायु परिवर्तनका कारण अभावमा मुस्ताङमा कृषिसँगै पशुपालनमा असर पारेको छ भने विभिन्न रोगब्याधि बढ्न थालेका छन्”, उहाँले भन्नुुभयो । जलवायु परिवर्तनकै असरका कारण मुस्ताङमा तीन वर्षयता हिउँ पर्नुपर्ने समयमा हिउँ नपर्दा समस्या निम्त्याएको स्थानीय शेरबहादुर गुरूङले बताउनुभयो । तापक्रममा आएको परिवर्तनकै कारण स्याउमा विभिन्न रोगहरू लाग्न थालेको बताउँदै उहाँले यसको प्रभाव न्यूनीकरणतर्फ बेलैमा ध्यान नदिए भयावह अवस्था आउने जिकिर गर्नुभयो । पछिल्ला समयमा अर्गानिक बस्तुहरू लोप हुँदा पनि समस्या पर्ने गरेको बताउँदै उहाँले तरकारी, फलफूललगायतमा पनि समस्या पर्ने गरेको उहाँको भनाइ छ ।
कृषि उत्पादनमा विषादीको बढ्दो प्रयोग पनि समस्याका रूपमा देखा परेको बताउँदै अर्का स्थानीय कृष्ण गौचनले हाम्रा सम्पदास्थलहरूो संरक्षण तथा विकासमा नाममा डोजरहरूको जथाभावी प्रयोगलाई रोक्नु अपरिहार्य भएको बताउनुुभयो । तीन चार वर्ष पानी नपरेकै कारण स्याउ तथा अन्य कृषि उत्पादनमा समस्या परेको बताउँदै उहाँले बढ्दो बाढी पहिरो र कालीनदीको बर्सेनि कटान गम्भीर चुनौतीका रूपमा देखा परेको धारणा राख्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष हरिहर वीरहीले जलवायु परिवर्तनको असर पर्नुुमा हाम्रो केही दोष नभए पनि त्यसको प्रत्यक्ष असर भोग्नुपरेको बताउनुभयो ।नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जलवायु परिवर्तनले विश्वमा नै प्रभाव पारिरहेका अवस्थामा मुस्ताङलाई लक्षित गरी कार्यक्रम गरिएको बताउनुभयो ।
गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले यस क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव सम्बन्धमा यसअघि २०८० कात्तिक १ गते प्रधानमन्त्रीको उपस्थितिमा मुस्ताङमा जलवायु संवाद गरिएको बताउनुभयो । पछिल्ला समयमा कागबेनीमा आएको बाढीजस्ता धेरै जनवायु परिवर्तनजन्य समस्याको न्यूनीकरणका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने उहाँले बताउनुुभयो । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले काली गण्डकीमा पानीको बहाव बढ्दा निर्माण गरिएका तटबन्धहरू भत्कँदै जाँदा समस्या हुने गरेको बताउनुुभयो । कृषिलगायतका धेरै क्षेत्र जलवायु परिवर्तनको असरमा प्रभावित भएको उहाँको भनाइ छ ।मुस्ताङमा पर्यटकको आगमन बढिरहेका अवस्थामा बन्दै गरेका पूर्वाधारलाई समयमा नै सम्पन्न गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुुभयो ।मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुुप्रसाद भुसालले हिमालपारिको जिल्लाको नाम पाएको मुस्ताङ जलवायुु परिवर्तनका असरका कारण कालापत्थरपारिको जिल्ला बन्छ की भन्ने चिन्ता बढाएको बताउनुभयो ।
युनियनका महासचिव दिलिप पौडेलले युनियनले लोकतन्त्र, प्रेस स्वतन्तत्राका साथै जलवायु परिवर्तनको बढ्दो प्रभावलगायतका विषयमा छलफल गर्ने गरी लोमन्थाङ इन्टरनेशनल मिडिया समिट आयोजना गरेको बताउनुभयो । रासस