समाचार
अमेरिका छिर्ने क्रममा पक्राउ परेका २० नेपालीलाई काठमाडौं ल्याएर छाडियो

काठमाडौं,बैशाख २५-
अमेरिकाले २० जना नेपालीलाई चार्टर्ड विमानबाट काठमाडौं ल्याएर छाडेको छ। ओम्नी एयरलायन्सको फ्लाइटबाट उनीहरूलाई बिहीबार काठमाडौं ल्याएर छाडिएको हो। पानामा सरकारको सहयोगमा अमेरिकाले २० जना नेपालीलाई काठमाडौंसम्म ल्याएको हो।
अमेरिकी जहाज ओम्नी एयरलायन्सको उक्त विमान भारतको दिल्ली हुँदै काठमाडौं आएको हो। स्रोतका अनुसार उनीहरू पानामाबाट गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए। पक्राउ परेका नेपालीहरूलाई पानामा सरकारको सहयोगमा अमेरिकाले नेपाल ल्याएको हो। पानामाबाट मंगलबार उडान भरेको ओम्नी एयरलायन्सको उक्त विमान सेनेगल, सेनेगलबाट नाइजेरिया, नाइजेरियाबाट युगान्डा, युगान्डाबाट केन्या, केन्याबाट दिल्ली हुँदै काठमाडौं आएको हो।
अमेरिकाले पहिलोपटक यति धेरै संख्यामा पानामामा पक्राउ परेकालाई नेपाल फिर्ता पठाएको हो। यसअघि पनि अमेरिकाले एकपटक ११ जना र एकपटक ३ जनालाई चार्टर्ड विमानबाट काठमाडौं ल्याएको थियो।

























