देश/प्रदेश

तनहुँको मान्द्रे खोलामाथि कल्भर्ट निर्माण

Banner

दमौली (तनहुँ), वैशाख ७-

शुक्लागण्डकी नगरपालिकामा तोकिएको म्याद अगावै कल्भर्ट निर्माण सम्पन्न भएको छ । शुक्लागण्डकी–८ र १० जोड्ने मान्द्रे खोलामाथि दुई महिना अगावै कुखुरे कटहरे कल्भर्ट निर्माण भएको हो । उक्त कल्भर्टको शनिबार उद्घाटन गरिएको छ ।

नगरको आन्तरिक बजेटबाट यहाँ कल्भर्ट निर्माण गरिएको हो । कल्भर्ट निर्माणका लागि गत मङ्सिर १० गते विसं २०८२ असार १५ गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।

नगरले यहाँ कल्भर्ट निर्माणका लागि रु २५ लाख बजेट विनियोजन गरेपनि रु २२ लाख १० हजार २५० मा ठेक्का सम्झौता भई कल्भर्ट निर्माण भएको शुक्लागण्डकी–१० का वडाध्यक्ष राजेन्द्र भट्टराईले जानकारी दिनुभयो । कल्भर्टको लम्बाइ २० मिटर रहेको छ ।

कल्भर्ट निर्माणपछि शुक्लागण्डकी–१० स्थित कुखुरे, कटहरे, लहरे, पातिस्वाँरा, सिम्ले र मीनामखानीका सर्वसाधारणलाई आवागमन सहज भएको उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यहाँ वर्षाका बेला खोला बढेर वारपार गर्न निकै समस्या थियो । सोही कारण पालिकाले आन्तरिक बजेटबाट कल्भर्ट निर्माण गरी आवतजावत सहज बनाएको हो ।”

बर्सेनि बढेर आउने बाढीका कारण खोला तरेर विद्यालय जान नपाएका विद्यार्थी र बिरामी हँुदासमेत जोखिम मोलेर यात्रा गर्नुपर्ने समस्या समाधान भएको स्थानीय दीपबहादुर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “खोला बढ्दा पनि सहज रूपमा विद्यालय, अस्पताललगायत काममा जान सकिन्छ ।” नेपालीले वडा र नगरपालिकाका कर्मचारीलाई कल्भर्ट नहुँदा स्थानीयले भोगेका समस्याका बारेमा बारम्बार जानकारी गराएपछि समाधान भएको उल्लेख गर्नुभयो ।

कल्भर्टको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले जनताका हरेक समस्या समाधान गर्ने जिम्मेवारी आफूहरूको रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ कल्भर्ट नहुँदा जनताले पाएको दुःखबारे जानकारी प्राप्त हुनासाथ हामीले आन्तरिक बजेट विनियोजन गरेर काम अगाडि बढायौँ । म्याद अगावै काम पनि सम्पन्न भयो ।” उपप्रमुख खुमबहादुर विकले गाउँलाई सहरसँग जोड्न पालिकाले विभिन्न योजना सञ्चालन गरिरहेको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>