देश/प्रदेश

तटबन्ध नहुँदा बादी बस्ती जोखिममा

Banner

कञ्चनपुर,वैशाख ७-

कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाको बादी बस्ती वनहरा नदीको उच्च जोखिममा छ । नदी तटीय क्षेत्रमा रहेको बस्ती क्षेत्रतर्फ सोझिएको नदीले बर्सेनि जग्गा कटान गर्दै आएको छ ।

गुरुयोजना निर्माण गरी बस्ती जोगाउन तटबन्धको भरपर्दो व्यवस्था गरिदिनुपर्ने बस्तीका अगुव पदम राना ९बादी०ले बताउनुभयो । “नदी नियन्त्रण गरी भूक्षय भइरहेको जग्गा जोगाउन धेरै वर्षदेखि माग गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “भरपर्दो व्यवस्था हुनसकेको छैन ।”

बर्खा आउन केही महिना मात्र बाँकी रहेकाले नदी छेउमा रहेकाहरु चिन्तामा छन् । गुन्याँँलफाँटामा ५० घर बादी समुदाय र एक सयभन्दा बढी घर दलित समुदायका छन् । विसं २०६४ मा नदीमा आएको बाढीले सात परिवार बादी विस्थापनमा परेका थिए ।

नदीले वर्षात्का बेला बस्तीतर्फ कटान गर्ने भएकाले थोरै जग्गा भूक्षय भएमा पनि चार घर विस्थापनमा पर्ने देखिएको पदम बादीले बताउनुभयो । बस्दै आएको ठाउँमा रहेको पाँच कट्ठा जग्गा पूरै गत वर्ष आएको बाढीले बगाएर लगेको केशव बादीले बताउनुभयो ।

“नदीले जग्गा कटानी गरी बगाएपछि ६ धुरमा बनेको टहरा मात्र बाँकी छ”, उहाँले भन्नुभयो, “परिवारको खर्चको जोहो मिलाउन भारततर्फ गएर मजदुरी गरौँला, त्यो कार्य वर्षौँदेखि गर्दै आएका छौँ, बास बस्ने टहरा नै नदीले बगाए कहाँ बस्ने भन्ने चिन्ताले सताउन थालेको छ ।”

स्थानीय दुरादेवी कुमालका अनुसार बस्ती जोगाउन वर्षौँ पहिले बनाइएका तटबन्ध ठाउँठाउँमा भत्किएका छन् । बाढी आए बस्ती नै छाडेर सुरक्षित सडक क्षेत्रमा खुला अकाशमा रात बिताउनुपर्ने विगतको बाध्यता उल्लेख गर्दै उहाँले अहिलेसम्म भरपर्दो तटबन्ध निर्माण नहुँदा बस्ती छाड्नुपर्ने बाध्यता बनेको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>