देश/प्रदेश

एक दशकपछि विश्वप्रशिद्ध वक्ता प्रेम रावत नेपालमा, भोलि रुपन्देहीमा भव्य कार्यक्रम हुँदै

Banner

रुपन्देही, वैशाख ५–

अन्तर्राष्ट्रिय स्तरमा प्रख्यात शान्तिदूत, विश्वप्रसिद्ध वक्ता, तीनओटा विधामा गिनिज वर्ल्ड रेकर्ड प्राप्त गर्न सफल तथा सर्वाधिक विक्री भएको पुस्तकका लेखक प्रेम रावत एक दशकभन्दा बढीको अन्तरालपछि पुनः नेपाल आउँदै हुनुहुन्छ । विगत ५५ वर्षदेखि विश्वभरि शान्ति, आत्मचेतना र आन्तरिक परिपूर्णताको सन्देश फैलाउँदै आउनुभएका रावतले विशेष कार्यक्रममा आफ्नो जीवन्त शान्तिको सन्देश दिनुहुनेछ।

उहाँले भोलि (शनिबार) रूपन्देहीको सैनामैना नगरपालिका–७ स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आफ्नो सन्देश प्रस्तुत गर्नुहुनेछ । आत्मज्ञान प्रचार संघ नेपालले आयोजना गरेको सो कार्यक्रम बिहान ७ः३० बजेदेखि सुरु भई १०ः०० बजेसम्ममा चल्नेछ । यस कार्यक्रममा इच्छुक सबैलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

रावतले हालैको भारत भ्रमणका क्रममा रायपुर, मिर्जापुर र देहरादुनमा उपस्थित हजारौँ श्रोताहरूलाई सम्बोधन गर्दै ‘आन्तरिक शान्ति प्रत्येक व्यक्तिको मौलिक आवश्यकता हो’ भन्ने महत्त्वपूर्ण सन्देश प्रस्तुत गर्नुभएको थियो।

उहाँ भन्नुहुन्छ, ‘यस संसारमा सबै कुरा परिवर्तन हुन्छन् तर जबसम्म तपाईँ जीवित रहनुहुन्छ तबसम्म तपाईँको श्वासको लय स्थिर रहन्छ। यो श्वास सृष्टिकर्ताको उपहार हो। यससँग जोडिन सिक्नुभयो भने मात्रै तपाईँको जीवन परिवर्तन हुनेछ ।’

एउटा कथाको माध्यमबाट उदाहरण दिँदै उहाँ भन्नुहुन्छ, ‘स्वर्ग र नरक यहीँ छन् । तपाईँ क्रोध र अहङ्कारमा भएका बेला नरकमा हुनुहुन्छ तर जब तपाईँको हृदयमा प्रेम र कृतज्ञता भरिएको हुन्छ तब तपाईँ यहीँ स्वर्गको अनुभव गर्न सक्नुहुन्छ । आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् ।’

आफ्ना श्रोताहरूलाई आन्तरिक शान्तिको खोजतर्फ प्रेरित गर्दै उहाँ भन्नुहुन्छ, ‘आफ्नो आँखा खोल्नुहोस् अनि आफूभित्र हेर्नुहोस् त्यसपछि पहिलादेखि नै तपाईँभित्र रहेको त्यस चिजलाई अनुभव गर्न सक्नुहुनेछ । तब तपाईँको हृदय आनन्द र कृतज्ञताले भरिनेछ ।’ उहाँ भन्नुहुन्छ, ‘यो केवल शब्द मात्रै होइन । म यसलाई अनुभव गर्ने तरिका पनि बताउन सक्छु । म यसलाई ‘ज्ञान’ भन्दछु ।’

शान्ति शिक्षा कार्यक्रम

श्री रावतले स्थापना गर्नुभएको द प्रेम रावत फाउन्डेसन (TPRF) द्वारा सञ्चालित Peace Education Program (शान्ति शिक्षा कार्यक्रम) संसारका ८७ भन्दा बढी देशहरूमा ४६ भाषामा सञ्चालनमा रहेको छ। स्पष्टता, समझदारी, आत्म–चेतना, चयनजस्ता विषयहरूमा आधारित कार्यशालाहरू समावेश गरिएको यो कार्यक्रमले विश्वभर ५ लाखभन्दा बढी व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ। विद्यालय, विश्वविद्यालय, सुधारगृह र कारागारहरूमा समेत यसको प्रभावकारी प्रयोग भइरहेको छ।

गिनिज वर्ल्ड रेकर्डहरूः

श्री प्रेम रावतले हालसम्म तीनओटा विधामा गिनिज वर्ल्ड रेकर्ड कायम गरिसक्नुभएको छः
–सन् २०२३ मा भारतको लखनऊमा भएको उहाँको पुस्तक स्वयं की आवाज (Hear Yourself) को लोकार्पण कार्यक्रममा १ लाख १४ हजार ७ सय ४ जनाको प्रत्यक्ष उपस्थिति रहेको थियो । यस कार्यक्रममार्फत उहाँले एकल लेखकद्वारा सर्वाधिक श्रोतामाझ वाचन गरिएको विश्वकीर्तिमान कायम गर्नुभएको थियो ।

–सन् २०२३ मै भारतको गयामा आयोजित कार्यक्रममा उहाँले दोस्रो विश्वकीर्तिमान कायम गर्नुभयो । यस कार्यक्रममा ३ लाख ७५ हजार ६ सय ३ जना सहभागीहरूको प्रत्यक्ष उपस्थितिलाई सम्बोधन गर्दै उहाँले एउटै सम्बोधनमा सबैभन्दा धेरै दर्शकको उपस्थितिको विश्वकीर्तिमान बनाउनुभएको थियो ।

–यसरी नै सन् २०२५ मा बहुलेखकद्वारा पुस्तक वाचन कार्यक्रममा सर्वाधिक दर्शकको प्रत्यक्ष उपस्थिति अर्थात् १ लाख ३३ हजार २ सय ३४ जनाको सहभागितामा तेस्रो विश्वकीर्तिमान कायम गर्नुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>