देश/प्रदेश

गुल्मीमा चार महिनामै पक्की पुल निर्माण

Banner

गुल्मी, वैशाख १-

गुल्मीका एक निर्माण व्यवसायीले डेढ वर्षमा बन्ने पुल चार महिनामै निर्माण गरेका छन् । निर्माण व्यवसायी विजय खनालले गुल्मीको मदाने गाउँपालिकाअन्तर्गत अग्लु फेँदी खोला पुल चार महिनामै निर्माण सम्पन्न गर्नुभएको हो ।

जिल्लामा सञ्चालित कैयौँ विकास योजनाहरू केही निर्माण व्यवसायीले समयमा काम नगरी अलपत्र परिहेको अवस्थामा खनालले डेढ वर्षको अवधिमा निर्माणसम्पन्न गर्नुपर्ने काम चार महिनामै सम्पन्न गर्नुभएको हो । गुल्मीको पञ्चमीपोखरी–अग्लुङ हुँदै प्यूठान जोड्ने सडकमा पक्की पुल निर्माण गरिएको छ । छोटो अवधिमै पुल निर्माणको काम नगरेर खनालले काम गर्ने इच्छाशक्ति भएमा तोकिएको समय नै पर्खनुपर्छ भन्ने मान्यतालाई चिरेर नयाँ उदाहरण प्रस्तुत गर्नुभएको छ ।

उक्त पुल निर्माणका लागि गत वर्ष जेठमा सम्झौता भएपछि बर्सात सुरु भएको र त्यसपछि दसँैतिहारजस्ता चाडपर्वहरू परेका कारण त्यसपछि मङ्सिर महिनादेखि फागुनसम्म चार महिनामा लगातार काम गरेर पुल निर्माणको काम सम्पन्न गरिएको निर्माण व्यवसायी विजय खनालले बताउनुभयो । तर समयमै काम सम्पन्न गरे पनि ६० लाख रुपैयाँ अझै भुक्तानी पाउन बाँकी रहेको खनालले गुनासो गर्नुभयो ।

खनालले आफूले निर्माणको जिम्मा लिएका ९९ प्रतिशत योजनामा म्याद थप नगरेको बताउनुभयो । यति छोटो समयमा पुल निर्माण भएसँगै त्यस क्षेत्रका नागरिकहरु पनि अचम्म परेका छन् । मदाने गाउँपालिका–१ का वडाध्यक्ष सुशील चन्दले निर्माण व्यवसायीमा इच्छाशक्ति भएमा योजना कसरी सम्पन्न हुन्छन् भन्ने नयाँ उदाहरण खनालले देखाएको बताउनुभयो ।

सडक पुर्वाधार कार्यालय गुल्मीमार्फत पुल निर्माणका लागि कमल–अर्जुन–सिटी जेभीले गत वर्षको जेठ ८ गते सम्झौता गरेको थियो । उक्त पुल भ्याटसहित रु चार करोड १४ लाख २९ हजार ९७९ को लागतमा सम्झौता भएको सडक पूर्वाधार कार्यालय गुल्मीका प्रमुख इन्जिनियर सचिदानन्द चौधरीले जानकारी दिनुभयो ।

गत मङ्सिर पहिलो हप्ता लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकाल र कृषि भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री दिनेश पन्थीले पुलको शिलान्यास गर्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>