देश/प्रदेश
कर्णाली राजमार्ग अवरुद्ध : करोडौंको स्याउ जुम्लामै अलपत्र

जुम्ला, भदौ १५-
जुम्लाको पातारासी–६ उर्थु गाउँका सुकबहादुर विष्टले बिहीबार बेचेको ३५ क्विन्टल स्याउ बाटोमै अलपत्र परेको छ। बगैंचामै ७० रुपैयाँ किलोमा बेचेर भरेको स्याउ बोकेको ट्रक कर्णाली राजमार्ग पहिरोले अवरुद्ध भएपछि बाटोमै अलपत्र परेको हो ।
‘गगनेखोलामा पहिरोले सडकको निसाना नै नरहने गरेर बगाएको खबर सुन्दैछु,’ उनले भने,‘कहिले सडक खुल्ने हो । कहिले स्याउ बजारसम्म पुग्ने हो भन्ने चिन्ता छ ।’उनको स्याउ व्यापारीले बजारमा बेचेर मात्र रुपैयाँ दिने भनेका छन् । उनका अनुसार सडकमा पहिरो जाने बित्तिकै स्याउको मूल्य पनि किलोमा १० रुपैया घटेको छ । ७ सय बोट स्याउको बगैंचा भएका पातारासी–६ कै भीमबहादुर विष्टले ४५ क्विन्टल स्याउ पठाएका छन् ।
बुधवार देखीको वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएपछि उनले पठाएका गाडी पनि बाटोमै रोकिएका छन् । ‘१० क्विन्टल अलि पहिला पठाएकोले बजारसम्म पुगिसकेको छ,’ भीमबहादुरले भने,‘एक दिनअघि मात्र पठाएको ३५ क्विन्टल स्याउ बाटोमै अलपत्र परेको छ ।’उनका अनुसार तीन दिनसम्म पनि सडक नखुले स्याउ कुहिन्छन् ।
उनले आफ्नो गाउँ उर्थुको ७५ प्रतिशत स्याउ बाटोमै रोकिएको बताए । उर्थुबाट लिइएका ३० गाडी स्याउ बाटोमै रोकिएको किसानहरूले बताएका छन् । यहाँका सयौं किसानले पठाएको स्याउ सडकमा रोकिएको छ ।यो पटक जुम्लामा १५ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएकोमा १० हजार मेट्रिक टन निर्यात हुने प्रक्षेपण गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले हरेक वर्ष सडकले जुम्ली किसानलाई धोका दिँदै आएको बताए । स्याउ बेचेर किसानले ४० करोड जुम्ला भित्र्याउने लक्ष्य राखिएको बताए । जुम्लामा चार हजार ५ सय हेक्टर क्षेत्रफलमा स्याउ रोपिएको छ । यस्तै जुम्ला तातोपानी ९२ डागीबाडा गाउँकी स्याउ व्यापारी जयलक्ष्मी डागीँले बगैंचाबाट टिपेर राखेको स्याउ सडक बन्द भएपछि थन्किएको बताइन् । उनले भनिन्,‘एक दुई दिनमा सडक खुलेत ठिकै होला । नखुल्ने हो भने स्याउ कुहिएर खेर जाने निश्चित छ ।’ नागरिकबाट

























