देश/प्रदेश

बन्दीपुरमा बाघजात्रा प्रदर्शन

Banner

दमौली (तनहुँ), भदौ ९-

पर्यटकीय तथा सांस्कृतिक नगरी तनहुँको बन्दीपुरमा शनिबार राति बाघजात्रा निकालिएको छ । संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित खड्गमाई सांस्कृतिक परिवारको आयोजनामा बाघजात्रा प्रदर्शन गरिएको हो । बाघजात्रा प्रदर्शन अगाडि शनिबार बिहान सर्वसाधारणलाई निम्तो बाँडिएको थियो । जात्राहरूको संरक्षण गर्ने उद्देश्यसहित बाघजात्रा देखाइएको सांस्कृतिक परिवारका सचिव सुजन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो संस्कृति, रितीरिवाज लोप हुन दिनु हुँदैन, यसको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यसहित बाघजात्रा प्रदर्शन गरिएको हो ।”परिवारका अध्यक्ष गेहेन्द्र प्रधानले बन्दीपुरका नेवार समुदायले यहाँ जात्राहरूका संरक्षण गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार बाघजात्राको दिन गरिएको अभिनयअनुसार दुःख दिने बाघलाई सिकारीले लखेटेर मारेका छन् । बाघजात्रामा बाघ, डाक्टर, नर्स, सिकारी, पहलवान, राजाको भूमिकामा यहाँका नेवार समुदायका व्यक्तिहरूले अभिनय गरेका थिए ।

बन्दीपुरमा जात्राको संरक्षणले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा मिलेको नेवाः पुचका अध्यक्ष किसान प्रधानले बताउनुभयो । यहाँ दुई सय ५० वर्ष पहिलेदेखि नेवार समुदायले विभिन्न जात्रा प्रदर्शन गर्दै आएका छन् । प्रधानले भक्तपुरबाट बसाइँसराइ गरी आएका नेवार समुदायले यहाँ संस्कृतिको संरक्षण गरिरहेको उल्लेख गर्नुभयो । बन्दीपुरमा भक्तपुरको शैलीमा विभिन्न जात्रा र पर्व मनाउँदै आइएको छ । यहाँका नेवारहरूले नयाँ वर्षमा मनाउने बिस्केट जात्रादेखि हरेक संस्कृति भक्तपुरे शैलीमा मनाइने गरिन्छ । भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दीपुरलाई थाततलो बनाए । भक्तपुरबाट उनीहरूसँगै भक्तपुरे नेवारी संस्कृति पनि भित्रिएको थियो ।

पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गर्दा भक्तपुरका नेवारहहरू बन्दीपुर प्रवेश गरेको इतिहास छ । व्यापार गर्न बन्दीपुर छिरेका भक्तपुरका नेवारहरूकै कारण यहाँ आजसम्म विभिन्न जात्राको परम्परा छ ।बन्दीपुरको बस्ती मगर समुदायले बसालेका हुन् । त्यसैकारण यसको नामकरण मगर भाषामै गरिएको छ । मगर भाषामा वन भनेको जङ्गल र डी भनेको पानी हो । विस्तारै मगर समुदाय यहाँबाट पलायन हुन थाले र नेवार समुदायको उपस्थिति बढ्न थालेको बताइन्छ । बन्दीपुर बजारमा एक सय ३४ घरपरिवार नेवार समुदायको छ । यहाँ भक्तपुरे शैलीका घर निर्माण गरिएका छन् । यहाँका नेवार समुदायले बिस्केट जात्रा, लाखेनाच, गाईजात्रा, बाघजात्रा, रोपाइँजात्रालगायत मनाउँदै आएका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>