देश/प्रदेश
एक हजार मेगावाट नाघ्यो विद्युत् निर्यात

काठमाडौं, भदौ ४-
नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने लक्ष्य लिएको पहिलो वर्ष नै यो आँकडा एक हजार मेगावाटभन्दा धेरै हुने भएको छ। नेपालले द्विपक्षीय सम्झौताबमोजिम भारतका विहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् दिने स्वीकृति पाएसँगै यस्तो सुनिश्चिता भएको हो।
आजको गोरखापत्र दैनिकमा समाचार छ, नेपालका लागि भारतीय दूतावासले नेपालबाट थप विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त भएको जानकारी दिएको हो। नेपालले हालसम्म १६ जलविद्युत् आयोजनाको ६९० मेगावाट निर्यातको स्वीकृति पाएकामा पछिल्लो स्वीकृतिसँगै २८ अयोजनाबाट ९४१ मेगावाट पुगेको छ।
विद्यत् चुहावटसमेत व्यवस्थापन गर्ने गरी १० प्रतिशतसम्म थप निर्यात गर्न सकिने प्रावधान रहेकाले निर्यातले एक हजार मेगावाटको आकडा पार गरेको हो। नेपाल विद्युत् प्राधिकरणको प्रयासले सार्थकता पायो भने यसमा अझै २०० मेगावाट थप हुने छ।
भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले दिएको स्वीकृति अनुसार नेपाल विद्युत् प्राधिकरणले अब हरियाणा राज्यलाई थप १२५.८९ मेगावाट र विहारलाई १२५ मेगावाट विद्युत् मध्यकालीन सम्झौताबमोजिम निर्यात गर्न स्वीकृति पाएको छ। मध्यकालीन सम्झौता अनुसार हरियाणामा १०९ मेगावाट विद्युत् निर्यात भइरहेकामा १२५.८९ मेगावाट थप गरिएको हो। विहारका लागि भने पहिलो पटक हो।
यससँगै मध्यकालीन सम्झौताबमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीहरूलाई बिक्री गरिने विद्युत्को परिमाण ३६० मेगावाट पुगेको छ। बाँकी विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) को डे अहेड र रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री हुने गरेको छ। मध्यकालीन सम्झौता अनुसार जुनदेखि अक्टोबरसम्म विद्युत् निर्यात हुन्छ भने आइइएक्समा विद्युत्को उपलब्धता अनुसार जुनसुकै समय खरिद बिक्री गर्न सकिन्छ।

























