देश/प्रदेश

पर्वतका नौवटा सामुदायिक वनमा पोखरी निर्माण

Banner

पर्वत, भदौ २-

वन्यजन्तुको सुविधा तथा डढेलो नियन्त्रणमा उपयोगी हुने ठानेर पर्वतका नौ वटा सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

डिभिजन वन कार्यालयले सामुदायिक वनमा पोखरी निर्माण कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा नौवटा पोखरी निर्माण गरेको हो । बाह्रैमास पानी टिक्ने स्थानमा पोखरी निर्माण गरेर पानी सङ्कलन गरिएको डिभिजन वन कार्यालयका प्रमुख झ्यामनारायण सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार रु १० लाखको लागतमा १० वटा पोखरी निर्माण गर्ने लक्ष्य रहेको भए पनि नौवटा मात्रै पोखरी निर्माण गर्न सकिएको उहाँले बताउनुभयो । नौवटा पोखरी निर्माण गर्दा रु आठ लाख ३९ हजार दुई सय १३ खर्च भएको उहाँले बताउनुभयो ।

फलेवास नगरपालिका–३ को देउपुजा सामुदायिक वन, मोदी गाउँपालिका–४ को लोहोसे चिसाखर्क सामुदायिक वन, बराहताल थान सामुदायिक वन, कुश्मा नगरपालिका–१४ को गिदाउरे सालघारी सामुदायिक वन, जलजला गाउँपालिका–४ को टाँडी बिसौना सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो । त्यसैगरी जलजला–८ को लस्ती वेर्नेटा सामुदायिक वन, फलेवास नगरपालिका–७ को कालोवन बाटुलेचौर सामुदायिक वन र कुश्मा नगरपालिका–३ को सल्लेरी सामुदायिक वनमा दुईवटा पोखरी निर्माण गरिएको उक्त कार्यालयले जनाएको छ ।

पोखरी जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको तापक्रम र डढेलो निभाउन उपयोगी हुने सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष जीवन उचै ठकुरीले बताउनुभयो । “पोखरीको पानीले मूलहरू ‘रिचार्ज’ हुन्छन् त्यसले मूल संरक्षणमा सहयोग पुग्छ”, उहाँले भन्नुभयो, “मानवीय व्यवहारकै कारण पानीका मुहान सुक्दै गइरहेका बेला वन क्षेत्रमा बनाइएका पोखरीले मानव र वन्यजन्तुको द्वन्द्व पनि घटाउने छ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>