दुर्घटना

दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता

Banner

भद्रपुर (झापा), साउन २६-

जिल्ला ट्राफिक कार्यालय झापाले सडक दुर्घटनामा कमी ल्याउन सक्रियता बढउँदै लगेको छ । ट्राफिक प्रहरीले चालेका जनचेतना अभिवृद्धिलगायत कार्यक्रम दुर्घटना न्यूनीकरणमा प्रभावकारी बन्दै गएका छन् ।

जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार विशेषगरी चालक र परिचालकका लागि कक्षा सञ्चालन तथा सडक प्रयोगकर्तालाई ट्राफिक सचेतना र सडक सुरक्षा कार्यक्रम गरिँदै आएको छ । “गत आर्थिक वर्ष २०८०/८१ मा ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री विशेष अभियान, लागुपदार्थ मादक पदार्थ सेवनगरी सवारीसाधन चलाउनेविरुद्ध अभियान, ओभरटेकसम्बन्धी गरिएका सचेतना कार्यक्रममा समावेश भएका दुई लाख ३५ हजार नौ सय ७७ जना प्रत्यक्ष रुपमा लाभान्वित भए । गत आवमा पाँच हजार चार सय ३० पटक ट्राफिकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन भए”, उहाँले भन्नुभयो ।

आर्थिक वर्ष २०७९/८० मा आठ सय चार दुर्घटनामा परी एक सय १४ जनाले ज्यान गुमाउनु परेको थियो । आव २०८०/८१ मा भएका पाँच सय ९३ सवारीदुर्घटनामा ८७ जनाको मृत्यु भएको प्रहरी नायब निरीक्षक गौतमले बताउनुभयो । पछिल्लो दुई आवको तथ्याङ्क हेर्दा सवारीसाधन दुर्घटनामा कमी आउनुका साथै मृतकको सङ्ख्यामा २३ दशमलव ६८ प्रतिशतले कमी आएको छ ।

प्रहरी नायब निरीक्षक गौतमका अनुसार ट्राफिक प्रहरीको सक्रियता, जनचेतनामूलक कार्यक्रम र नियमको कडाइका साथ पालना गराउँदा अघिल्लो वर्षकोभन्दा राम्रो प्रतिफल मिलेको हो । गत आवमा ५७ हजार चार सय ५६ सवारीसाधनका चालकलाई कारबाही गरेर रु तीन करोड ८६ लाख ८२ हजार राजस्व सङ्कलन भएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>