देश/प्रदेश
१७ वर्षको उमेरमा भारत गएर सम्पर्कबिहिन भएका नरसिंह ६४ वर्षपछि घर फर्के

पिथौरागढ, साउन २४-
बैतडीको पुर्चुनीहाटका नरसिंह राउटाके ६४ वर्षपछि घर फर्किएका छन् । १७ वर्षको उमेरमा कामका सिलसिलामा भारत गएका नरसिंह ६४ वर्षपछि घर फर्किएका हुन् ।
नरसिंहको मृत्यु भइसकेको ठानेर परिवारले उनको काजक्रिया समेत गरेका थिए । लामो समय समम सम्पर्कमा नभएकाले परिवारको सदस्यले उनको मृत्यु भइसकेको ठानेका थिए । झुलाघाटका सुरेन्द्र कुमारका अनुसार, थुप्रै कामदार नेपालको पुर्चुनीहाट क्षेत्रबाट पिथौरागढमा कामको खोजीमा जाने गरेका छन् । उनीहरूबीच नरसिंहलगायत हराएका मानिसका बारेमा कुराकानी हुने गरेको थियो । पुर्चुनीहाट नेपाल र भारतको सीमाक्षेत्रको ठाउँ हो ।
उनका बारेमा यसअघि पिथौरागढ र उत्तराखण्डका विभिन्न स्थानमा खोजी गरिएको थियो । तर, फेला नपरेपछि परिवारले उनको अन्तिम काजक्रिया समेत गरेको थियो ।
आफूलाई नरसिंह दाबी गर्ने व्यक्ति उनको गाउँबाट ५० किमि टाढाको ठाउँमा घुमफिर गरिरहेको केही दिनअघि परिवारले खबर पायो । नरसिंहका भतिज गामीसिंह राउटाकेका अनुसार, उनले आफ्ना काकालाई कहिल्यै भेटेका थिएनन् । तर, परिवारका ज्येष्ठ सदस्यहरूबाट सुनेका थिए ।
उनले त्यो मान्छेलाई भेट्ने निर्णय गरे र केही आफन्तसहित त्यहाँ गए । परिवारका सदस्यले भेटेपछि ती व्यक्ति उनीहरूका हराएका आफन्त हुन् भन्ने पुष्टि भएको थियो ।
टाइम्स अफ इन्डियाबाट

























