देश/प्रदेश
कार्यालय सहयोगीबाट वडाध्यक्ष बनेका गुरुङ वैदेशिक रोजगारीमा गए बेलायत

दाङ, साउन २४-
दाङको राप्ती गाउँपालिका–८ को वडाध्यक्ष चन्द्रबहादुर गुरुङ वैदेशिक रोजगारीमा विदेश गएका छन् । वडाध्यक्ष सम्हालेको तीन वर्ष नपुग्दै उनी रोजगारीका लागि बेलायत गएका हुन् ।
वडा सदस्य चम्फा पुनलाई साउन १७ गते कार्यवाहक अध्यक्षको जिम्मेवारी दिंदै गुरुङ बेलायत गएका हुन् ।
कार्यवाहक दिइएको पत्रमा उनले विशेष कामले विदेश जान लागेको उल्लेख गरेको भए पनि कहिलेसम्म भनेर खुलाएका छैनन् । परिवारले दिएको जानकारी अनुसार ऋण बढेपछि उनी बेलायत गएका हुन् । २०७९ को स्थानीय चुनावअघि कार्यालय सहयोगी रहेका गुरुङ चुनावपछि सोही वडाको अध्यक्ष बनेका थिए । तर, स्थानीय तहको चुनावी खर्च र बिरामी आमालाई उपचार गर्दा ऋण लागेको उनको परिवारले जनाएको छ । ऋणको ब्याज बढेर ५० लाखको हाराहारी पुग्न थालेपछि गुरुङ साउन २० गते बेलायत उडेका हुन् ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार वडाध्यक्ष गुरुङ विदेश गएकोबारे पालिकालाई औपचारिक पत्रबाट जानकारी गराइएको छैन ।
गाउँपालिका अध्यक्ष विष्टले उनी विदेश जान लागेको हल्ला पहिले नै सुनेका थिए । साउन १६ गतेको कार्यपालिका बैठकमा अध्यक्ष विष्टले त्यसबारे वडाध्यक्ष गुरुङसँग सोधेका पनि थिए । ‘घरासयी ऋण धेरै छ । ऋण तिर्न बाहिर जान लागेको कुरा भन्नु भएको थियो,’ विष्टले भने, ‘हामीले आफ्नो कार्यकाल पूरा गरेर जान सम्झाएका थियौं । पछि उहाँ विदेश गएको खबर पायौं ।’
परिवारका अनुसार गुरुङ ‘सिजनल भिसा’मा बेलायत गएका छन् । उनले पाँच, छ महिनापछि आफू फर्कने बताएका छन् । गुरुङको श्रीमती र दुई छोरा छन् । एउटा १२ कक्षामा र अर्को ८ कक्षामा पढ्छन् ।
गुरुङले वडा कार्यालयमा पाँच वर्ष कार्यालय सहयोगी भएर बिताएका थिए । कार्यालय सहयोगी हुँदाहुँदै २०७९ को चुनावमा उनले एमालेबाट टिकट पाए । चुनावमा प्रतिस्पर्धी कांग्रेसका प्रभाकरदेव चौधरी र माओवादी केन्द्रका रामचन्द्र चौधरीलाई हराएका थिए ।
सूचना स्रोतः अनलाइनखबर

























