देश/प्रदेश
११ संस्था तथा व्यक्तिलाई ‘लायन्स कर्पोरेट सोसियल अवार्ड’ प्रदान

काठमाडौँ, साउन २१–
लायन्स क्लव अफ काठमाडौं कर्पोरेट नेपालले ११ वटा संस्था तथा व्यक्तिलाई ‘लायन्स कर्पोरेट सोसियल अवार्ड’ले सम्मान गरेको छ । काठमाडौंमा आयोजित एक भव्य समारोहकाबीच समाजमा महत्वपूर्ण योगदान पु¥याएका विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाहरुलाई अवार्ड प्रदान गरेर सम्मान गरिएको हो ।
क्लवले सोसियल जर्नालिजम अवार्ड बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधान, सोसियल आध्यात्मिक अवार्ड प्रमुख बौद्ध गुरु तथा लेखक रिन्पोचे स्यल्पा तेन्जिन, सोसियल प्लेयर अवार्ड प्रतिभाशाली कराते खेलाडी इरिका गुरुङ, सोसियल कर्पोरेट हाउस अवार्ड रमेश कर्प, सोसियल कर्पोरेट लिडर अवार्ड नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्ललाई प्रदान गरेको छ ।
यसैगरि सोसियल सेलिब्रेटी अवार्ड नेपाली सिने जगतका महानायक राजेश हमाल, सोसियल ब्युरोक्राइट्स अवार्ड उद्योग तथा वाणिज्य मन्त्रालयका पूर्वसचिव चन्द्र घिमिरे, स्पोट्र्स म्यानेजमेन्ट अवार्ड नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा हालका नेपाल क्रिकेट संघका म्यानेजर विनोद दास, सोसियल एकेडेमिक अवार्ड नेपाली शिक्षामा एक प्रमुख व्यक्तित्व अनिल केडिया, सोसियल म्यानेजमेन्ट अवार्ड मोहन राज ओझा, कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी अवार्ड सूर्य नेपाल प्रा.लि.लाई प्रदान गरिएको क्लवका अध्यक्ष रमेश रुपाखेतीले जानकारी दिए ।

लायन्स क्लवले सामाजिक सेवामा समर्पित क्लव भएकाले समाजमा महत्वपूर्ण योगदान दिएका व्यक्ति तथा संस्थाहरुलाई प्रोत्साहनका साथै योगदानको कदर स्वरुप विभिन्न विधामा अवार्ड प्रदान गरेर सम्मान गरिएको क्लवका निवर्तमान अध्यक्ष किशोर भट्टराईले जानकारी दिए ।
नेपालमा सन् १९७१ मा पूर्वप्रधानमन्त्री मातृक प्रसाद कोइरालाले बिराटनगरमा पहिलो लायन्स क्लवको स्थापना गरेका थिए । त्यसलगत्तै लायन्स क्लवको बिस्तार हुँदै हाल देशभर २ हजार बढी क्लवहरु स्थापना भइसकेका छन् ।
नेपालका लायन्स क्लबहरू शिक्षा, स्वास्थ्य सेवा र विपद् राहतमा विभिन्न पहलहरू मार्फत समाजको उत्थान गर्न समर्पित छन्। लायन्स क्लव सङ्कटको समयमा आपतकालीन राहत, टीयू लायन्स ब्लड बैंक जस्ता स्वास्थ्य सेवा पूर्वाधारमा महत्त्वपूर्ण योगदान, र लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन मार्फत परोपकारमा केन्द्रित छ।
कर्पोरेट सोसियल अवार्डले संघसंस्था तथा व्यक्तिलाई सामुदायिक संलग्नतालाई बढावा दिनुको साथै उत्तम अभ्यासहरू अपनाउन प्रेरित गर्ने विश्वास लिईएको छ ।



























