देश/प्रदेश
नेपालमा कलेजो प्रत्यारोपण गर्न १५ लाख देखि ३५ लाख रुपैयाँसम्म

काठमाडौं, साउन १२-
नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको छ। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नेपालमै पहिलो पटक २०७३ मङ्सिर २२ गते कलेजो प्रत्यारोपण सफल भएको थियो।
आजको गोरखापत्र दैनिकमा समाचार छ, त्यसपछि केन्द्रमा कलेजो प्रत्यारोपणले निरन्तरता पाइरहेको छ। केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ कलेजो प्रत्यारोपण सर्जन डा। पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा पहिलो पटक कलेजो प्रत्यारोपण सफल भएको थियो। दक्षिण कोरियास्थित सामसुङ मेडिकल सेन्टरबाट आएको कलेजो प्रत्यारोपण सर्जनको टोलीको सहयोगमा कलेजो प्रत्यारोपण गरिएको थियो।
केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठका अनुसार केन्द्रमा तीन वर्षीय बालकको समेत कलेजो प्रत्यारोपण भएको छ। गत वर्ष उक्त केन्द्रमा तीन वर्षका बालकको जन्मजात पित्तको नलीको विकास नभएको अवस्थामा हेपाटो ब्लास्टोमा क्यान्सरका कारण कलेजो फेल भएकाले कलेजो प्रत्यारोपण गरिएको थियो । कार्यकारी निर्देशक डा श्रेष्ठले दिएको जानकारी अनुसार अब केही दिनभित्रै डेढ वर्षका नाबालकको पनि कलेजो प्रत्यारोपण गर्ने तयारी भएको छ।
नाबाकलदेखि ६८ वर्षीय वृद्धसम्मको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको जानकारी उनले दिए। कलेजो तथा मिर्गौला प्रत्यारोपणका लागि नेपालबाट वार्षिक पाँच अर्ब रुपियाँ बिदेसिने गरेको अनुमान रहेको छ। डा श्रेष्ठले गत आर्थिक वर्षमा १५ जनाको कलेजो प्रत्यारोपण सफल भएको जानकारी दिए।
केन्द्रले गत आव २०८०/८१ मा शतप्रतिशत सफलताका साथ १५ जनाको कलेजो प्रत्यारोपण गर्नुलाई ठूलो उपलब्धि मानेको छ। शतप्रतिशत कलेजो प्रत्यारोपण संसारका कुनै पनि प्रत्यारोपण केन्द्रमा हुँदैन, डा श्रेष्ठ भन्छन्, ‘गत वर्ष कलेजो प्रत्यारोपित तथा कलेजोदाता सबै सकुशल घर गएका छन्।’
यसैगरी त्रिवि शिक्षण अस्पतालमा हालसम्म १५ जनाको सफल कलेजो प्रत्यारोपण भएको छ। कलेजो रोग विभाग प्रमुख तथा वरिष्ठ कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारीले हालसम्म १५ जनाको कलेजो प्रत्यारोपण भएको बताए।
कति लाग्छ खर्च ?
डा श्रेष्ठका अनुसार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण गर्दा कुल खर्च १५ देखि २० लाखसम्म लाग्छ। विदेश गएर कलेजो प्रत्यारोपण गर्दा एकदेखि डेढ करोडसम्म खर्च हुने उनीबताउँछन्।
डा भण्डारीले शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणका लागि कम्तीमा २५ देखि ३५ लाखसम्म खर्च लाग्ने गरेको जानकारी दिए।
























