समाज
नारायणगढ रोटरीद्वारा ह्विलचेयर वितरण

चितवन, जेठ ५-
रोटरी क्लब अफ नारायणगढले गौरेश्वर पशुपति मन्दिर, नारायणगढमा एकथान ह्विलचेयर वितरण गरेको छ । क्लबका अध्यक्ष भोलानाथ लामिछानेले पूर्ण पक्षघातबाट पीडित दियालोरोडकी ७२ वर्षकी उजेली दमाईलाई उक्त ह्विलचेयर हस्तान्तरण गरेका हुन् ।
सेवालाई स्वार्थभन्दा माथी राख्नुपर्छ भन्ने मान्यताकासाथ अगाडि बढेको रोटरी क्लब अफ नारायणगढले प्रदान गरेको उक्त सहयोगको लागि उजेलीकी कान्छी छोरी रिना परियारले धन्यवाद दिएका थिए । रिनाका अनुसार उनकी आमा उजेली विगत पाँच महिनादेखि पूर्ण पक्षघातबाट पिडित छिन् । साथै अल्सर र दुवै किड्नीसमेत खराब भएको उनले बताइन् । हाल सरकारी अस्पतालमा उनको उपचार भइरहेको र स्वास्थ्य विमा नभएकोले उपचार खर्चको अभाव भएको पनि रिनाले गुनासो गरिन्।
क्लबका अध्यक्ष भोलानाथ लामिछानेले दीनदुःखीहरू र अप्ठ्यारोमा परेकाहरूलाई क्लबले स्थापनाकालदेखि नै सहयोग गर्दै आएको जानकारी गराउँदै आगामी दिनहरूमा पनि माग र आवश्यकता अनुसार सहयोग गर्ने बताए ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान, पूर्व अध्यक्षहरू विज्ञानलाल श्रेष्ठ, राजेन्द्र ओली, नारायण प्रधान, निवर्तमान अध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठ, वर्ष २०२४÷२५ का लागि निर्वाचित अध्यक्ष तारानाथ पाठक र सचिव सेवन पन्तको उपस्थिति रहेको थियो ।