देश/प्रदेश
आइदिनुभयो भने १५ औँ महाधिवेशनको अध्यक्षता शेरबहादुर दाइले नै गर्नुहुन्छ, विशेषबाट आएको नेतृत्वले छोडेर कुर्सीमै बस्नुस् भन्न सक्दैनौँः सहमहामन्त्री राणा

काठमाडौं
नेपाली काँग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले केही नेताहरूले महाधिवेशन प्रक्रियामा भाग नलिँदैमा पार्टी विभाजन भएको भन्न नमिल्ने बताउनुभएको छ ।
मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेता तथा कार्यकर्ताहरू महाधिवेशनमा सहभागी नभएको विषयलाई पार्टी विभाजनका रूपमा व्याख्या गर्न नमिल्ने जिकिर गर्नुभएको हो । उहाँले केही नेताहरु चुनदेवीतिर जाँदैमा पार्टी विभाजन नहुने बताउन ुभयो । उहाँले पार्टीले १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन नेता डा। शेखर कोईरालाले राखेका सात बुँदे र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले राखेका पाँचबुँदे माग सम्बोधन गरेको बताउनु भयो ।
उहाँले वार्तामा ‘गिभ एन्ड टेक’ हुने भएपनि यसपटक असन्तुष्ट पक्षका माग सम्बोधन गर्न पार्टीले अधिकतम लचकता अपनाएको दाबी पनि गर्नुभयो । उहाँले पार्टीको १४औँ महाधिवेशनबाट आएका सदस्यहरुलाई समेत समायोजन गर्नुपर्ने माग सम्बोधन भइसकेको बताउनु भयो । उहाँले पूर्वसभापति शेरबहादुर देउवा महाधिवेशनमा आएमा उद्घाटन सत्रको सभापतित्व गराउन समेत पार्टी तयार रहेको बताउनु भयो । तर विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले आफ्नो पद छाडेर पुनः पुरानै नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्न नसक्ने उहाँको भनाइ छ ।उहाँले फरक प्रसंगमा बोल्दै सरकार सेवा प्रवाहमा भन्दा सामाजिक सञ्जालमा बढी सक्रिय रहेको आरोप लगाउनु भयो । उहाँले सरकारका गतिविधि र कार्यशेलीमा परिपक्वताको अभाव रहेको टिप्पणी पनि गर्नुभयो ।























