समाचार

आज राति यी प्रदेशमा धेरै भारीदेखि अति भारीसम्म वर्षाको सम्भावना

०
Banner

चितवन,असोज ९-

मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) साँझ ६ बजे अद्यावधिक बुलेटिनअनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थान तथा बागमती प्रदेशका केही स्थान साथै कोसी र मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने पश्चिमी वायुको पनि आंशिक प्रभाव छ। साथै बलियो न्यूनचापीय प्रणाली (डिप्रेसन) भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपास छ। यो प्रणाली उत्तर-उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर न्यूनचापीय प्रणालीका रूपमा रहने सम्भावना छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थान तथा कोसी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ।

यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका, कर्णाली प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा, मधेस तथा कोसी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने आज राति भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। अनि मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हुरीको समेत सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो ?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो। अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ। यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>