चितवन विशेष
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा मधेश च्याम्पियन,आयोजक चितवन तेस्रो

चितवन,कात्तिक १६-
मधेश प्रदेश प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको टिम च्याम्पियन भएको छ ।
चितवनको रत्ननगर नगरपालिकास्थित निपनीमा सम्पन्न प्रतियोगितामा मधेश प्रदेशले बागमती प्रदेशभन्दा एक कांस्य पदक बढी जित्दै टिम च्याम्पियनको उपाधि उचाल्यो । मधेश र बागमतीले समान १७ स्वर्ण र १० रजत पदक जिते । तर मधेशले ९ कांस्य पदक जित्दा बागमतीले आठ कांस्य पदक मात्र जित्न सफल भयो । यससँगै मधेशले आठ राष्ट्रले प्रतिस्पर्धा गरेको प्रतियोगितामा टिम च्याम्पियनको उपाधि उचाल्यो । च्याम्पियन मधेशले ५० हजार र उपविजेता बागमतीले ३० हजार रुपैयाँ नगद पुरस्कार पाए । प्रतियोगितामा नेपालसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानका करिब आठ सय खेलाडीले ग्योरोगी र पुम्से विधाका विभिन्न उमेर तथा तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।
चितवन तेक्वान्दो डोजाङको आयोजनामा भएको आयोजक टोली (चितवन जिल्लाको टोली) तेस्रो भयो । आयोजकले १० स्वर्ण, १७ रजत र ४० कांस्य पदक जित्यो । तेस्रो भएको आयोजक टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । च्याम्पियनसिपमा चितवनका साहिल मन्सुर ग्योरोगीतर्फ उत्कृष्ट पुरुष खेलाडी घोषित भए । बागमतीकी दीक्षा तामाङ उत्कृष्ट महिला ग्योरोगी खेलाडी बनिन् । उत्कृष्ट प्रशिक्षकको पुरस्कार मधेशका दीपेश मानन्धरले प्राप्त गरे । विजेता टोली तथा खेलाडीलाई रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा, प्रतियोगिता संयोजक प्रमुख प्रज्वल दवाडी र आयोजक चितवन जिल्ला तेक्वान्दो डोजाङका प्रमुख रोशनलगायतले पुरस्कृत गरे ।
च्याम्पियनसिपमा उज्वल श्रेष्ठ उत्कृष्ट रेफ्री घोषित भएको प्रतियोगिताको अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले बताए । पुम्से पुरुषतर्फ आयुष गुरुङ र महिलामा युमी राई उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा ग्योरोगीतर्फ सब जुनियर (९–११ वर्ष), क्याडेट (१२–१४ वर्ष), जुनियर (१५–१७ वर्ष) र सिनियर (१८ वर्षमाथि) तथा पुम्से विधामा गरी कुल ६४ स्वर्ण र रजत तथा १२८ कांस्य पदकका लागि प्रतिस्पर्धा भएको थियो ।
























