देश/प्रदेश

जिल्ला कारागारमा एक वर्षदेखि स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

०
Banner

सङ्खुवासभा, मंसिर ३ –

जिल्ला कारागार सङ्खुवासभामा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । अहिले कारागारमा क्षमताभन्दा तेब्बरसम्म कैदीबन्दी राखिएकाले स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी नहुँदा समस्या भएको जिल्ला कारागार खाँदबारीका सूचना अधिकारी जीवराज राईले बताउनुभयो ।

कारागारमा विसं २०८२ साउनदेखि स्वास्थ्यकर्मी नहुदाँ कैदीबन्दीको उपचार तथा औषधि व्यवस्थापनमा समस्या हुने गरेको उहाँको भनाइ छ । स्वास्थ्यकर्मीको दरबन्दी भए पनि सरुवा भएर अन्यत्र गएपछि करिब १४ महिनादेखि जनशक्ति अभाव भएको उहाँलदे बताउनुभयो ।

लोकसेवा आयोगमा माग गरेको भए पनि हालसम्म दरबन्दीअनुसार स्वास्थ्यकर्मी नपठाएको कारागारका सूचना अधिकारी राईले बताउनुभयो । दरबन्दीका स्वास्थ्यकर्मी सरुवा भएर गएपछि उपचारमा समस्या भएको हो । चिसोका कारण रुघाखोकी, हातखुट्टा दुख्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या कैदीबन्दीमा देखिएको छ ।

दरबन्दीअनुसार स्वास्थ्यकर्मी कारागारमा नहुँदा बिरामीलाई अस्पताल ल्याउँदा लैजाँदा खर्च बढ्नाका साथ असहज भएको कारागार प्रशासनले जनाएको छ । कारागारमा १५ जनाले नियमित औषधि सेवन गर्दै आएका छन् ।

खाँदबारी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । ‘घ’ श्रेणीको जिल्ला कारागारमा ५५ जना क्षमता भए पनि १५३ कैदीबन्दी राखिएको छ । यहाँ १४५ पुरुष, आठ महिला र एक जना आश्रित बालबालिका रहेका कारागारका सूचना अधिकारी राईले जानकारी दिनुभयो ।

कारागार तीन दशमलव पाँच रोपनी क्षेत्रफल फैलिएको छ । बन्दीको व्यक्तित्व विकास, सीप विकास तथा कला विकासका लागि पर्याप्त ठाउँ नभएको जनाइएको छ । क्षमताभन्दा बढी कैदीबन्दी सङ्ख्या भएकाले दैनिक क्रियाकलाप खान, बस्ने र शौच गर्ने पनि समस्या हुने गरेको कैदीबन्दीको भनाइ छ । कारागारको सुधार तथा क्षमता वृद्धि गर्नका लागि माथिल्लो सरोकार भएका निकायलाई पटकपटक अनुरोध गरे पनि सुनुवाइ भएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>