Breaking News

चितवन राइनोजलाई ५ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स विजयी

०
Banner

काठमाडौं, कार्तिक १६-

ब्रान्डन म्याकमुलनको विष्फोटक इनिङ्सको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजमाथि ५ विकेटको सहज जित हात पारेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न ‘डे-नाइट’ खेलमा जितका लागि पाएको १ सय ३० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २० बल बाँकी छँदै १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

सुदूरपश्चिमको जितमा ओपनर ब्रान्डन म्याकमुलनले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४३ रन जोडे। उनले मात्र २१ बलमा ६ चौका र २ छक्का प्रहार गरेपछि सुदूरपश्चिमको जितको आधार तय भएको थियो।

लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमको सुरुवात भने कमजोर थियो। ओपनर सेफ जैब दोस्रो ओभरमै २ रनमा आउट भए भने विनोद भण्डारी ११ रन बनाएर पभेलियन फर्किए। त्यसपछि आएका म्याकमुलनले छिटो रन जोडे पनि सातौं ओभरमा चितवनका बलर रञ्जित कुमारले लगातार दुई बलमा म्याकमुलन र सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी (०) लाई आउट गराएर खेलमा केही दबाब सिर्जना गरेका थिए।

त्यसपछि सम्हालिएर खेलेका इशान पाण्डेले २९ बलमा २५ रन जोडे । पाँचौं विकेटका रूपमा पाण्डे आउट भएपछि क्रिजमा आएका आरिफ शेख र शेरफेन रदरफोर्डले टोलीलाई जितसम्म पुर्‍याए। आरिफले अविजित २० रन र रदरफोर्डले १५ बलमा अविजित २१ रनको योगदान दिए।

चितवनका लागि बलिङतर्फ रञ्जित कुमारले ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट हात पारे भने रिजन ढकाल र मौसम ढकालले १-१ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन मात्र जोड्न सकेको थियो। चितवनका लागि अनुभवी ब्याटर रवि बोपाराले सर्वाधिक ४९ रन बनाएका थिए। ४० बलमा ३ चौका र २ छक्का प्रहार गरेका बोपारा १ रनले अर्धशतकबाट चुकेका थिए।

चितवनका विवेक यादवले १७, डेविड मलानले १६, अर्जुन साउद र कप्तान सिकन्दर राजाले समान १५/१५ रन बनाएका थिए। सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले ४ ओभरमा २६ रन दिएर २ विकेट लिए भने कप्तान दीपेन्द्र सिंह ऐरी, अनिल खरेल र हेमन्त धामीले १-१ विकेट हात पारेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>