अर्थ
नेपाली बजारमा सुन अभाव, दैनिक माग ५० किलोभन्दा बढी

काठमाडौं,मंसिर ३-
सुनको मूल्यमा लगातार गिरावट आएकाले नेपाली बजारमा सुन खरिद गर्ने उपभोक्ताको चहलपहल बढेको छ। मूल्य घटेसँगै बजारमा सुनको माग दैनिक ४० देखि ५० किलोभन्दा बढी पुगेको छ। तर, दैनिक २५ किलो मात्रै आयातको कोटा रहेकाले बजारमा सुनको अभाव देखिन थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताएका छन्।
शाक्यका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्नुमा अमेरिकाको ब्याजदरसम्बन्धी नीतिगत संकेत, ट्रेजरी बजारमा प्रतिफल बढ्ने अपेक्षा तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रम मुख्य कारण रहेका छन्।दअमेरिकी फेडरल रिजर्भले ब्याजदर बढाउन सक्ने संकेतले सुनको मूल्यमा दबाब परेको उनको भनाइ छ। त्यस्तै, अमेरिकाको ट्रेजरी बजारमा प्रतिफल बढ्ने अपेक्षाले पनि सुनको मूल्य घट्न मद्दत गरेको उनले बताए। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुमा युद्ध तथा अस्थिरताले भूमिका खेल्दै आएको भए पनि अहिले युद्धका लागि आर्थिक स्रोत जुटाउन रुसले आफ्नो सुन भण्डारबाट सुन बिक्री गरेको खबरले पनि मूल्य घट्न प्रभाव पारेको शाक्यको भनाइ छ।
अमेरिका र इरानबीचको युद्ध रोक्न सकिने सम्भावनासम्बन्धी घटनाक्रमले समेत सुनको मूल्यमा असर पारेको उनले बताए। ‘सुनको मूल्य अन्तर्राष्ट्रिय बजारकै प्रवृत्तिअनुसार निर्धारण हुने भएकाले नेपालमा पनि त्यसको प्रभाव तत्काल देखिन्छ। बाहिरको बजारमा मूल्य बढ्दा नेपालमा घट्ने र बाहिर घट्दा नेपालमा बढ्ने भन्ने हुँदैन,’ शाक्यले भने।
उनका अनुसार सुनको मूल्य एक समय प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो। अहिले घटेर २ लाख ५७ हजार रुपैयाँ आसपासमा आइपुग्दा उपभोक्ताका लागि खरिद गर्न सहज भएको छ। मूल्य घटेपछि सुन किन्ने प्रतीक्षामा रहेका ग्राहक अहिले बजारमा आउन थालेको उनले बताए।
मूल्य अझै घट्ने आशामा खरिद रोक्नुभन्दा मूल्य घटेको अवस्थामा खरिद गर्नु उपभोक्ताका लागि उचित हुन सक्ने शाक्यको सुझाव छ। सुनको मूल्य फेरि बढ्न सक्ने भएकाले घटेको मूल्यलाई अवसरका रूपमा लिन सकिने उनले बताए। सुनको मूल्य घटेसँगै बजारमा माग बढेको तर मागअनुसार सुन उपलब्ध हुन नसकेको शाक्यले बताए। उनका अनुसार अहिले बजारमा दैनिक ४० देखि ५० किलोभन्दा बढी सुनको माग छ, जबकि आयातको दैनिक कोटा २५ किलो मात्रै रहेको छ। ‘अहिले बजारमा सुनको अभाव सुरु भइसकेको छ। व्यवसायीले बिक्री गरेको सुन पुनः मौज्दात गर्न खोज्दा पर्याप्त सुन उपलब्ध हुन सकेको छैन,’ उनले भने।
मूल्य घटेपछि कारोबार बढ्नु व्यवसायीका लागि सकारात्मक भए पनि बिक्री भएको सुन पुनः खरिद गरेर मौज्दात कायम गर्न नसक्दा जोखिम बढ्ने उनको भनाइ छ। व्यवसायीले १० तोला सुन बिक्री गरेपछि त्यही परिमाणमा सुन खरिद गर्न नपाए र पछि मूल्य बढेमा मौज्दात व्यवस्थापनमा घाटा बेहोर्नुपर्ने अवस्था आउन सक्छ।
मंसिर विवाहको लगनको समय भएकाले सुनको मूल्य घट्नु विवाह गर्ने परिवार तथा नयाँ दम्पतीका लागि अवसर भएको शाक्यले बताए। मूल्य घट्दा पहिलेको तुलनामा कम रकममा सुन खरिद गर्न सकिने भएकाले विवाहका लागि सुन किन्ने उपभोक्तालाई राहत मिलेको उनको भनाइ छ।
सुनको मूल्यमा हुने उतारचढाव अन्तर्राष्ट्रिय बजारमा निर्भर रहने भएकाले आगामी दिनमा मूल्य घट्ने वा बढ्ने निश्चित रूपमा भन्न नसकिने उनले बताए। अन्तर्राष्ट्रिय बजारको प्रवृत्ति र घटनाक्रमअनुसार मूल्य निर्धारण हुने भएकाले सुनको मूल्यबारे ठोस पूर्वानुमान गर्न कठिन रहेको शाक्यको भनाइ छ।
























