खेलकुद
अन्तरराष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल

काठमाडौँ, असोज १३–
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसियाली खेलकुदसहित ठूला अन्तरराष्ट्रिय प्रतियोगितामा अपेक्षित नतिजा हासिल गर्न खेलकुदको तल्लो तहदेखि दीर्घकालीन लगानी आवश्यक रहेको बताउनुभएको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री पोखरेलले विगतमा ‘ग्रासरुट’ तहमा पर्याप्त लगानी हुन नसक्दा अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको प्रदर्शन कमजोर भएको बताउनुभयो ।
“एसियाली खेलकुदलगायत अन्तरराष्ट्रियस्तरका प्रतियोगितामा पदक जित्न नसक्नु वा नतिजा कमजोर हुनुको मुख्य कारण विगतमा ग्रासरुट तल्लो तहदेखि उल्लेख्य र प्रभावकारी लगानी हुन नसक्नु हो । खेलकुदमा आज लगानी गरेर भोलि नै नतिजा वा पदक आउँदैन, यसका लागि दीर्घकालीन लगानी आवश्यक हुन्छ”, मन्त्री पोखरेलले भन्नुभयो ।
खेलकुद पूर्वाधार विकासका लागि सहरी विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच समझदारी भई देशका २७ स्थानमा कभर्ड हल, क्रिकेट तथा फुटबल रङ्गशालालगायत पूर्वाधार निर्माण अघि बढाइएको उहाँले जानकारी दिनुभयो । विभिन्न प्रतियोगितामा सफलता हासिल गरेका खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरिएकामा पुरस्कार प्राप्त नभएकाको हकमा अर्थ मन्त्रालयसँग समन्वय गरी आर्थिक स्रोत सुनिश्चित गरेर उपलब्ध गराइएको जानकारी दिनुभयो ।
मन्त्री पोखरेलले घरेलु लिग सञ्चालनको विषयमा खेलाडीहरूसँग छलफल गरिएको भन्दै घरेलु लिग सञ्चालनका लागि तयारी भइरहेको बताउनुभयो । “खेलाडीहरूसँग छलफल गर्दा वर्षौँदेखि घरेलु लिग नभएको विषय मुख्य रूपमा उठेको छ । त्यसैले घरेलु लिग सञ्चालन गर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो । निजी क्षेत्रको लगानीमा ‘फ्रेन्चाइज’ तथा ‘कपमोडल’का प्रतियोगिता सञ्चालन गर्न सरकार सकारात्मक रहेको उहाँको भनाइ छ ।
निजी क्षेत्रले नेपाल सुपर लिग (एनएसएल) लगायत फ्रेन्चाइज प्रतियोगिता सञ्चालन गर्न चाहेमा सरकारले आवश्यक सहजीकरण गर्ने मन्त्री पोखरेलले बताउनुभयो । “निजी फ्रेन्चाइजले कपमोडलमा प्रतियोगिता सञ्चालन गर्न चाहेमा सरकार सकारात्मक छ”, उहाँले भन्नुभयो ।























